सरकारले लकडाउन हटाएपछि कोभिड–१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको
यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरू स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अहिलेकै अवस्थामा परीक्षा लिन नसकिने बताए । ‘संक्रमण बढेको छ, अब अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्छौँ,’ उनले भने । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजनिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।
परीक्षा तालिका सार्वजनिक गरेका र गर्ने तयारीमा रहेका कार्यालय र विद्यार्थी अन्योलमा परेका छन् । व्यवस्थापन संकायले संक्रमण बढेका कारण अर्को सूचना नहुँदासम्म परीक्षा स्थगित गरेको छ । धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले यसअघि सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालयलाई दिएको थियो । यस्तै, वार्षिक परीक्षाबारे निर्णय गर्ने अधिकार परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ ।
त्रिविको इन्जिनियरिङ तथा कृषि र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौदेखि परीक्षा सुरु गर्ने तालिका सार्वजनिक गरेका छन् । इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातकको १५ भदौदेखि सुरु हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
अन्य अध्ययन संस्थान पनि परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षा केन्द्रको तालिका मिलाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय संक्रमित संख्या बढेपछि विद्यार्थी र विश्वविद्यालय नै अन्योलमा छन् ।
(सभार : नयाँ पत्रिकाबाट)