बागलुङ — विद्यालय आउने–जाने गर्दा मात्रै उनीहरूले दैनिक साढे चार घण्टा बिताउन पर्थ्यो । विद्यालय समयमा नपुग्ने, फर्कंदा अन्तिम पिरियड छाड्नुपर्ने बाध्यता थियो । झोलामा लाइट बोकेर मात्र विद्यालय जान्थे ।
बागलुङस्थित गलकोट नगरपालिका–८ काँडेबासको शिव माविले चलाएको शिक्षण सिकाइ केन्द्रमा मास्क लगाएर पढ्दै बालबालिका ।
गलकोट नगरपालिका–८ थालेपोखराका कक्षा ९ मा पढ्ने अर्जुन विक र कक्षा १० की देवी खत्रीले पढ्नका लागि निकै सास्ती खेपे । उनीहरूसँगै थालेपोखराका झन्डै ५० बालबालिकाको सास्ती हो यो । काँडेबासको शिव मावि पुग्न बिहान ओह्रालो दुई घण्टा झर्नुपर्छ । बेलुकी घर फर्कंदा तीन घण्टासम्म लाग्छ ।
अहिले भने उनीहरूले घरछेउमै पढ्न पाएका छन् । ३० मिनेटमै पुगिने ज्यामिरेमा विद्यालयले शिक्षण सिकाइ केन्द्र स्थापना गरेको छ । ‘अहिले बिहान घाँसपात गरेर पनि पढ्न पाएका छौं,’ खत्रीले भनिन्, ‘हिँड्नु नपरेपछि पढेको पनि बुझेका छौं ।’ विद्यालयले विषयगत शिक्षक पठाएर टोलमै पढाउने व्यवस्था गरेपछि नियमित नभएका बालबालिका पनि नियमित भएको प्रधानाध्यापक हरि चालिसेले बताए ।
कोरोना संक्रमणका कारण विद्यालयले टोलटोलमा शिक्षण सिकाइको काम थालेको हो । गलकोट नगरपालिकाले सबै वडामा टोल शिक्षा सञ्चालन गर्न भने पनि अन्य वडामा नियमित भएन । तर शिव माविले आफ्नो सेवा क्षेत्रमा असार पहिलो सातादेखि नै नियमित टोल शिक्षा सञ्चालन गरिरहेको छ । ‘दैनिक ३ घण्टा जाने–आउने समय छोटिएको छ’ उनले भने, ‘घरको काम भ्याएर पनि नियमित पढ्न पाउँदा बालबालिका खुसी भएका छन् ।’
विद्यालयले बालबालिकाको चाप र दुरीलाई मध्यनजर गर्दै ११ वटा सिकाइ केन्द्र बनाएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई कक्षा शिक्षकले पढाउने गरेका छन् भने माथिल्लो कक्षाकालाई विषयगत शिक्षकले पालैपालो पढाउँछन् ।
ग्रामीण क्षेत्रमा इन्टरनेट अभावमा अनलाइन कक्षा सम्भव थिएन । त्यसैले अभिभावककै सल्लाहमा असार १ देखि टोल शिक्षा थालिएको हो । विद्यालयले सबैका हातमा पाठ्यपुस्तक पनि उपलब्ध गराएको छ ।
पढाउने स्थानमा दुरी कायम गर्ने र नियमित मास्क फेरेर लगाउने व्यवस्था गरिएको छ । कोरोनाको संकटको बेला पढाउनुपर्दा जोखिम हुने भएपछि स्थानीय अभिभावक रामप्रसाद शर्माले २५ हजार खर्चेर विद्यार्थीलाई मास्क दिएका छन् । ‘हरेक दिन नयाँ मास्क वितरण गर्छौं, पुरानो व्यवस्थापन गर्छौ,’ प्रधानाध्यापक चालिसेले भने, ‘बालबालिकामा सरसफाइ, रोगबारे सचेतना र फरक शैलीमा पढ्ने वातावरण तयार भएको छ ।’ यहाँ ३ वटा, गल्याङमा १, बायसल्लामा १, पचुवामा ५ र थालेपोखरामा एउटा शिक्षण सिकाइ केन्द्र बनाइएको हो । यसका लागि यहाँका बालकल्याण प्रावि, नवदीप प्रावि, भानु प्रावि, देवकोटा प्राविसहित पुराना घर र सामुदायिक भवन प्रयोग गरिएको छ । केन्द्रमा अस्थायी शौचालय र हातधुने धाराको प्रबन्ध गरिएको छ ।
विद्यालयको व्यवस्थापनबाट प्रभावित भएर अरूलाई पनि उदाहरण दिने गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुस्मराज उपाध्यायले बताए । ‘धेरै राम्रो भएको रहेछ, त्यो काम गरियो भने वर्षौं समस्या भए पनि बालबालिकाले सहजै पढ्न पाउँछन्,’ उनले भने, ‘पालिकाहरूले साथ दिए भने सबैले यस्तै पढाउन सक्छन् ।’