रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं ५ की १७ वर्षीया किशोरी बलि चढ्नबाट जोगिएकी छन् । किशोरीलाई बलि चढाउँन भारत पुर्याउँन लागेको आंशकामा प्रहरीले उद्धार गरेपछि घटना बाहिर आएको हो ।
सीमा क्षेत्र विराटनगर महानगरपालिका १७ हुँदै भारत लैजाने क्रममा उनलाई उद्धार गरिएको हो । किशोरीलाई भारत पु¥याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउसमेत गरेको छ ।
घटनाको प्रकृति अनुसार प्रारम्भिक अनुसन्धान गर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का बताउँछन् ।
उनलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ बर्षिय मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठीकोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० बर्षिय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ । सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।
प्रहरीका अनुसार झुम्कामा बसेर तरकारी पसल गर्ने मनिकाले चिनजानका आधारमा किशोरीलाई लिएर विराटनगर आएको खुलेको छ । किशोरीकी आमाले मनिकालाई भान्जी भनेर बोलाउने गरेको पाइएको छ ।
सुमितले सिकाए अनुसार मनिकाले आइतबार विहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै किशोरीकी आमासँग अनुमति मागेकी थिइन् । चिनजानकै युवतीले भनेपछि आमाले पनि सहज रुपमा छोरीलाई जान दिएकी थिइन् ।
कुमारी केटीलाई पूजामा राखेर टिका लगाइदिँदै ५ हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर किशोरीकी आमालाई मनिकाले विश्वस्त पारेको अनुसन्धानका क्रममा पाइएको छ । आफ्नो पनि पैसा आउने भएकाले किशोरीलाई एउटा मोबाइलसमेत किनिदिने भन्दै मनिकाले थप प्रलोभन देखाएर लगेको प्रारम्भिक सोधपुछका क्रममा पाइएको प्रहरीले बताएको छ ।