रामधुनी । सुनसरीको बराहक्षेत्रमा हत्या गरिएकी बालिकाको बलात्कार प्रयास असफल भएपछि हत्या भएको प्रहरीको प्रारम्भिर अनुसन्धानले पुष्टि गरेको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं १ कटहरेकी १२ बर्षकी मिना राईको हत्या गरिएको अवस्थामा उनकै घरमा शव शुक्रवार राती भेटिएको थियो । घटनामा संलग्न सोही स्थान बस्ने १५ वर्षीय रञ्जित राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मिनाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको छ भने बाँकी ७ जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रञ्जितले मिनाको हत्या आफुले गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको बताइएको छ । इलाका प्रहरी कार्यालय चकरघटट्टी र जिल्ला प्रहरी कार्यालय सुनसरीको दुई वटा अनुसन्धान टोलीले बाँकी पक्राउ परेकाहरूको पनि संलग्नता भए/नभएको अनुसन्धान गरिरहेको छ । हत्या हुनु केही घण्टा अघि रञ्जित र बाँकी ७ जना युवाहरुसँगै रहेको अनुसन्धानले देखाएको छ ।
प्रहरीको अनुसन्धानले छिमेकी घरमा धामी बसेको हेर्न आमा बुवासहित गएकी मिना पछि निन्द्रा लागेर घर एक्लै फर्किएकी थिइन । पसलसमेत रहेको मिनाको घरमा रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेका थिए । मिना भने ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन । मिना सुतेको देखेपछि रञ्जितपनि सोही झ्यालबाट छिरेर जबरजस्ती गर्न खोजेका थिए ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार रञ्जितले बलात्कार गर्ने मनसायले मिनाको सुरुवाल धेरै पटक खोल्ने प्रयास भएको दाबी गरे । प्रतिकारको क्रममा मिनाले रञ्जितको हातमा टोकेपछि फलामको औजारले टाउकोमा प्रहार भएको र मिना ढलेको अनुसन्धानबाट खुलेको छ । पछि मिनाले प्रयोग गरेको सलको मद्दतले घाटी थिची हत्या गरिएको जनाइएको छ ।
मिनाको टाउको र घाटीमा चोट छ । आइतबारसम्मको अनुसन्धानले मिनाको बलात्कारको प्रयास मात्र भएको र आवेगमा हत्या भएको जनाइएको छ । पक्राउ परेका रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको छ । ‘मापसे सेवन गरेको अवस्थामा रञ्जितले मिनालाई घर भित्रै जबरजस्ती गर्न खोजेको देखिन्छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘पछि आफ्नो पहिचान खुल्छ भनेर हत्या गरेर भागेको अवस्था हो ।’ अपराध स्थलमापछि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त कुकुरसमेत मगाई अनुसन्धान गरिएको थियो ।
मिना र रञ्जितको घर करिब ७० मिटरको अन्तरमा छ । नाताले भने दुवै जना मामा-भान्जी पर्ने हुन् ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले लगभग हत्यारा नियन्त्रणमा लिइसकेको बताउँदै घटनाको वास्तविकता र दोषीलाई पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने बताए ।