सुनसरी । जनकपुरधाम–७ पेठियाका सञ्जीव साहले छुट्टै बसेका श्रीमती र छोरीलाई डेरामा पुगेर एसिड छ्यापेका छन् ।
शनिबार बिहान सञ्जीवले गरेको एसिड प्रहारबाट २१ वर्षीया आरती साह र ४ वर्षीया छोरी रिया घाइते भएका छन् । श्रीमतीलाई लक्ष्य गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको छ ।
एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन भर्खरै बनेको छ । घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको छ । आरतीलाई जनकपुरको जानकी हेल्थ केयरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । स्थिति गम्भीर रहेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लगिएको छ । उपचारमा संलग्न चिकित्सक डा. का अनुसार आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको छ ।
सञ्जीव र आरतीको पाँच वर्षअघि विवाह भएको थियो । बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए । छोरीसँगै लगेकी आरतीले तरकारी बेचेर गुजारा चलाउँदै आएकी थिइन् । सञ्जीव विभिन्न पसलमा काम गर्दै छाड्दै हिँड्ने गरेका थिए । दुवैबीच सम्पत्ति लेनदेनमा झगडा भएको देखिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले बताए ।