काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुल्लामञ्चमा खाना खुवाउँन रोक लगाएको भए पनि हाम्रो टिम नेपालले त्यसलाई निरन्तरता दिएको छ ।
कोरोनाको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिस लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालले जनाएको छ ।
महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो ।
सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर, खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरू बाध्य भएको हाम्रो टिम नेपालले जनाएको छ ।
लकडाउनपछि खाना खान नपाएर समस्यामा परेका व्यक्तिहरूलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ ।