सञ्जिता धमला, धरान । पूर्वेली लोक–भाकाका सर्जक तथा आफ्नो पालाका निकै चर्चित गायक सुरेश गन्धर्व अहिले दिर्घरोगी भएका छन्।उमेरले ६५ बर्ष नाघेका सुरेशले सारंगी रेट्दै हिडेको करिब ५० वर्ष भएको छ। यति लामो सारंगीको यात्रामा उनले यसअघि अहिलेजस्तो पीडा भोग्नु परेको थिएन। अहिले दुई छाक खान पनि धौ धौ परेको छ। रोग र भोकले अहिलेको अवस्था भने निकै दयनिय बनाएको छ ।पुरानो घर भोजपुर भएपनि विगत ५० वर्षदेखि धरान बस्दै आएका गन्धर्व अहिले वडा नं ८ बरगाछीमा कोठा भाडामा बस्छन्। उनलाई पछिल्लो समय मुटु रोग, युरिक एसिड (वाथ), सुँगर (मधुमेह), प्रेसर,थाइराइटजस्ता रोगहरुले च्यापेको छ ।
‘लकडाउन नहुँदा दिनको ४–५ सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो, चाडपर्व हुँदा १ हजारदेखि १२ सय कमाउँथे, अहिले लकडाउनले गर्दा आम्दानी छैन, रोगी पनि भए।’ उनी भन्छन, ‘नेपाल भारतका विभिन्न ठाउँहरु हिड्दा धेरै दुःख, भोक र प्यास अनि तिता बचन सहेर लोकभाकामा निरन्तरता दिएको छु। बजार क्षेत्रमा त प्रहरीले टिकीखान दिँदैनथे । काठमाण्डौको पशुपति, बनकालीतिर २०६० सालमा रोडमा बसेर गित गाउँदा एक इन्स्पेक्टरले मलाई भने–तेरो मुन्टो चुडाएर फालिदिन्छु भने । कतिपय स्थानमा गाउँघरका मानिसले पनि बचन लाउने गरेका छन्। धेरै चित्त दुख्छ तर सहन्छु ।’
उनकी काइली छोरी तारा गन्धर्वले भनिन्, ‘सारंगी बाध्य बाधनबाट बुबाले अलेली पैसा ल्याउनु हुन्थ्यो । बिरामीले थला परेपछि कमाउने कोही छैन । दैनिक गुजारा गर्ने निकै सकस परेको छ। आर्थिक कारण परिवारको भविष्य नै अन्योलपूर्ण भएको छ ।’ गन्धर्वको पेसा नै सांरगी बाध्य–बाजन भएकाले गर्दा आफु यस पेसामा खुसी रहेको उनले बताए । म बाँचिरहेसम्म समाउँछु, रेट्छु । गाउन धेरै भए पनि स्वास्थ्यले साथ नदिएको उनले बताए ।
सांरगी अहिले लोपउन्मुख भइसक्यो, कतिले लाजले बजाउँदैनन् । मन्चमा हैन, सडकको पेटीमा बस्नुपर्छ । पृथ्वीनारायण शाहको पालामा वा त्यसअघि राजाको पालामा सत्य घटनामा आधारित हत्याहरु र पर्वहरुको जानकारी लोकगाथा गाथेर सुनाउने चलन थियो । सूचनाजस्तै हुन्थ्यो । तर, अहिले प्रविधीसँगै मोडल वाजा बजाउँछन् । पछि त सांरगी के हो ? भन्छन् होला । त्यसैले सांरगी जर्गेना गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न राज्यले सहयोग गर्नुपर्ने उनी बताउँछन्।
पूर्वी प्रसारण केन्द्रबाट आएका टोलीले भोकल परीक्षण गरि २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालमा रिंकेबुङको राँगोमा बोलकोे गित रेकड गरेका थिए । पारिश्रमिक वापत २५ सय पाएका थिए । जुन अहिले पनि रेडियो कान्तिपुरहरुमा पनि बज्दै आएका छन्।धेरैले बाटोमा पनि रिकेंबुङको राँगो भनेर जिँस्काउने गरेको उनी सुनाउँछन्।
सत्य घटनामा आधारित गीत र सन्देश बोकेको गीत मात्र गाउने गरेको उनको भनाइ छ ।उनले १२ वर्षमा १५ हजारमा सांरगी किनेर गित गाउन थालेका थिए। सांरगी समेत आफै १२ वटा बनाएका थिए। उनले धेरै शिष्य इष्टमित्रलाई बाँडेको र ४ वटा बेचेको बताए । २०६० सालमा नेपालमा सांरगी बाध्य बाधनमा दोसा्रे भएर पुरस्कृतसमेत भएका थिए उनी ।

कलाकर्मीलाई देशको गहना भने पनि त्यसलाई सरकारले व्यवहारमा उतार्न नसक्दा वरिष्ठ कलाकारहरुसमेत बुढेसकालमा पुगेपछि बेसाहारा बन्नु परेको साथै कसैले पनि यादसमेत नराख्ने गरेको उनको गुनासो छ । आजका दिनसम्म संगित क्षेत्रमा धेरै योगदान पुर्याएका गन्धर्वलाई कुनै पनि संस्थाहरु, सरकार, संगीत संस्था, चलचित्र बोर्डहरुले सहयोगको त कुरै छाडौ, सोधपुछसमेत नगरेको उनी बताउँछन्।
केहि दिनअघि उनको स्वास्थ्यमा समस्या आएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० लाख डिपोजिट गरेर मात्र उपचार गर्ने सर्त राखियो । केहि मनकारीहरुको सहयोगमा उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि विभिन्न सञ्चारमाध्यमले उनको बिषयलाई उठाएपछि धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले गन्दर्भलाई अस्पतालमै भेटेर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएकी छिन् ।उनको गीतलाई पुनः जागाउँने रमेश प्रसाईले गाएको गीतबाट उठेको ३५ हजार आर्थिक सहयोग पनि उनको उपचारमा खर्च गरिने भएको छ । यसबाट उनी केहि हदसम्म खुःसी बनेका छन् ।

मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइराला र मदन भण्डारीलगायतको साथमासमेत सांरगी बजाएर हिडेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि रिंकेबुङको राँगोमा बोलकोे गितमा नचाएको उनी सम्झन्छन् ।
लोक भाका र सांरगीलाई माया गर्नेहरुले आफुलाई सहयोग गरेर बचाउँन उनले आग्रह गरेका छन् । ‘मलाई चिन्ने दर्शकहरुलेहरुले मलाई सहयोग गरिदिनु । म बाँचेर सांरगीको पूस्ता हस्तान्तरण गर्न चाहन्छु ।’ आर्थिक सहयोगको अपिलसहित उनी भन्छन् । हामीले यसरी एक कलाकारलाई पुनर्जन्म दिन सकेनौ भने राष्ट्रिय बाध्य बाधक लोप हुँदै जानेछन् । समयमा सुरेशलाई बचाउन नसके सर्जकहरु गुमाउने छौ ।