रामधुनी । जनता समाजवादी पार्टी (जसपा) रामधुनीका अध्यक्ष रामबहादुर खड्काले सुनसरीको रामधुनी नगरपालिका भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।
बुधबार ‘ढेडीगाउँ नगर अस्पताल बचाऊ संघर्ष समिति रामधुनी’ले झुम्कामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
दीर्घकालिन सोच–बिचार नै नगरी नगरपालिकाले ढेडीगाउँमा बनाउँनुपर्ने नगर अस्पताल बक्लौरीमा बनाउँन लागेको र त्यहाँ नीतिगत भ्रष्टाचारसमेत भएको उनको आरोप छ ।
पहिला नगरपालिकाले डेढीगाउँको जग्गा देखाएर मन्त्रालयबाट अस्पताल स्वीकृत गराएको र अहिले आर्थिक चलखेल गर्ने दुरासयकासाथ बकलौरीमा सार्न खोजेको उनको आरोप छ ।
नगरपालिकाको उक्त निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा बिचाराधीन रहेको र त्यसका लागि जस्तोसुकै कानुनी उपचार खोज्नसमेत आफु पछि नहट्ने उनले बताए ।
बकलौरीमा अस्पताल शिलान्यास गर्ने तयारीमा नगरपालिका रहेकोले उक्त शिलान्यास गर्न नदिइनेसमेत उनले बताए । बकलौरीमा अस्पताल शिलान्यास गर्न खोजिए आफुहरुले त्यसको प्रतिबाद गर्ने उनको भनाई छ ।
रामधुनी नगरपालिकाले बकलौरी र ढेडीगाउँका जनतालाई एक–आपसमा लडाउँन खोजेको खडकाको आरोप छ ।
पत्रकार सम्मेलनमार्फत संर्घष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंसिर १२ गते नगरपालिका घेराऊ तथा कोणसभा गर्ने र मंसिर १५ गते कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष प्रदिप चौधरीले बताए ।
उक्त समितिलाई जनता समाजवादी पार्टीको पूर्ण समर्थन रहने र अब रामधुनी नगरपालिकाविरुद्ध चरणवद्ध आन्दोलन गर्ने जसपाका नगर अध्यक्ष खड्काले बताए । उनी भन्छन्, ‘नगरपालिका अस्पतालको मामलामा मात्रै होइन, अन्य विभिन्न बिषयमा भ्रष्ट छ । त्यसविरुद्ध हामी अब चरणवद्ध आन्दोलन गर्छौँ ।’