१६ मंसिर, बेलका । उदयपुरको बेलका नगरपालिकामा १० शैयाको आधारभुत अस्पताल बन्ने भएको छ ।
अस्पताल भवनको सोमबार मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदी लगायतले संयुक्त रुपमा सिलान्यास गरेका छन् ।
वडा नं ६ स्थित किरात चौकमा अस्पताल बन्नेछ । १० करोड ८३ लाख ३६ हजारको कुल लागतमा भवन निर्माण हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले जानकारी दिएका छन् ।
सोमबार देशभर तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको सिलान्यास भएको र सो क्रममा बेलकामा पनि सिलान्यास गरिएको हो । बेलको अस्पताल भवन २ बर्षभित्र सम्पन्न गर्नुपर्ने र अस्पतालको क्षेत्रफल १७ सय ७६ स्क्वायर मिटरमा फैलिने नगरपालिकाका प्रेस संयोजक ललित राईले बताए ।
उनका अनुसार अस्पतालमा २ जना मेडिकल अधिकृतसहित १७ जना स्वास्थ्यकर्मी रहने छन् ।