२४ मंसिर, बेलका । उदयपुरको बेलका नगरपालिका पुगेर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ९ ओटा भौतिक संरचना उद्दघाटन गरेका छन् ।
मंगलबार बेलकामा निर्माण गरिएका विभिन्न ९ वटा भौतिक संरचनाको राईले उद्दघाटन गरेका हुन् ।
४ नं वडा कार्यालय भवन, ४ नं वडामा रहेको बेलका कोभिड अस्पताल तथा आधारभूत स्वास्थ्य कार्यालय भवन, ५ नं वडा कार्यालय भवन, ६ नं सम्पर्क वडा कार्यालय भवनको राईले उद्दघाटन गरेका हुन् । त्यस्तै ३ नं वडामा रहेको खसी–बोका संकलन केन्द्र, महिला सुरक्षा आवास भवन, बेलका सिटीहल भवन, आदिवासी जनजाती महासंघ भवन र सेतीखोला झोलुङ्गे पुलकोसमेत मुख्यमन्त्री राईले उद्दघाटन गरेको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा आफुहरु अगाडि बढिरहेको बताएका छन् । ‘हामीले बनाएको संविधान जनताको हो, संविधान अनुरुप अधिकार सम्पन्न जनता बनाउन अहिलेको तिनै तहको सरकार लागेको छ, संघीय प्रणालीबाट देशलाई समृद्द बनाउन सरकार लागेको छ ।’ उनले भने, ‘संविधानअनुरुप नेपालको इतिहासमै पहिलोपल्ट नेपाली जनतालाई मालिक बनाउने प्रयास गरेका छौं, आज उद्घाटन भएका संरचना संघीयता कै अनुरुप हो, जनताको काम पारदर्शी, चुस्त–दुरुस्त पार्नका लागि आज यस्ता भवन निर्माण भएका छन ।’
देशलाई समृद्द बनाउन सबै खालका बिभेदको खाडल अन्त्य गर्दै समानता र समावेशी मुलुक निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा मुख्यमन्त्री राईले जोड दिएका छन् ।
तस्बिर सौजन्य : ललित राई