रामधुनी । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजार नजिक रहेको ‘झुम्का खसी वधशाला’ प्रयोगविहीन बनेको लामो समय भएपनि त्यसलाई सञ्चालन गर्ने बिषय अनिश्चितजस्तै बनेको छ ।

झ्याल, ढोका र खसी बध गर्दा प्रयोग हुने मेसिनहरु हराइसकेका छन् । अहिले उक्त भवन गाँजा खानेहरुको अखडा बनेको स्थानी बताउँछन् ।
संरक्षणको दाइत्व बोकेको स्थानीय सरकार गैरजिम्मेवार भएर पन्छिएपछि प्रयोगविहीन भएको वधशाला भवनको विजोग भएको हो ।करिब ५ वर्षअघि ७५ लाखको लागतमा निर्माण गरिएको भनिएको वधशाला तत्कालीन भादगाउँ सिनुवारी गाविसले निर्माण गरेको थियो । झुम्का बजारमा अव्यवस्थित रुपमा माछा मासु बिक्री हुन थालेपछि गाविसले विकल्पका रुपमा उक्त स्थानमा वधशाला बनाएको थियो ।
अहिले पनि झुम्का बजारमा अव्यवस्थित रुपमा माछा-मासु काट्ने र बिक्री हुँदै आएको छ । ०७१ बाट सुरु गरेर ०७२ मा निर्माण सकिएको वधशाला केहि समय आंशिक प्रयोगमा आएर बन्द भएको थियो ।
मेयर जयप्रकाश चौधरीले बधशाला निर्माणस्थल नै गलत रहेको र खोलामाथि भवन बनेकाले त्यसलाई संरक्षण गर्न नसकिने बताउँदै आएका छन् । कतिपयले त्यतिबेला भवन निर्माणकै चरणमा चरम भ्रष्टाचार भएको र करिब २५ लाख लाग्ने भवनको लागत ७५ लाख देखाइएको आरोप लगाउँने गरेका छन् । स्वयं वडा नं. १ का वडाअध्यक्ष महेशकुमार चौधरीले उक्त भवन निर्माणमा अनियममितता भएको हुनसक्ने बताउँदै आएका छन् ।

स्थानीय तहको निर्वाचन अगावै भवन निर्माण गरिएको हुँनाले त्यसको दोषी आफुहरु नभएको नगरपालिकाको भनाई छ ।

तर बधशालाको बिषयमा नगरपालिका गैरजिम्मेवार बन्दा समस्या भएको रामधुनी वडा नं. १ का अध्यक्ष चौधरी बताउँछन् । यदि नगरपालिकाले उक्त बधशालाको जिम्मा वडालाई दिए आफु सञ्चालन गरेर देखाउँने उनको भनाई छ ।