रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समुहका स्थायी समिति सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी शर्मा ओलीमा विधि, पद्धति र लोकतन्त्रलाई नमान्ने प्रवृति रहेको बताएका छन् ।
संसद विघटनविरुद्ध मंगलबार सुनसरीको सदरमुकाम इनरुवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन् ।
आचार्यले कुनै एक व्यक्तिको निहित स्वार्थको लागि संसद विघटन र सिंगो कम्युनिष्ट पार्टी विभाजन गरिएको भन्दै त्यसलाई कसैले पनि स्वीकार गर्न नसक्ने बताए ।
‘पार्टीका बैठकमासमेन आउँन मानेनन्, पार्टीसँग समन्वय गरेर काम गर भन्दा ओलीले ‘म मान्दिन’ भने ।’ उनी भन्छन्, ‘पार्टी भित्रको लोकतन्त्र खै ? निर्णय प्रक्रिया खै ?’
संसद विघटन गैरसंबैधानीक र गैरलोकतान्त्रीक कदम भएको भन्दै त्यसलाई सच्याउँनुपर्ने नेता आचार्यको भनाई छ ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उद्देश्य नभएको जिकिर गर्दै आचार्यले पार्टीसँग समन्वय गरेर अघि बढ्न र जनताको माझमा राम्रो काम गर्न सुझाव दिदा पनि ओलीले नमानेको बताए । आचार्यले भने, ‘घेराबन्दी गरियो भन्ने प्रचार गरियो । त्यस्तो होइन, सरकारको हरेक निर्णय पारित हुनबाट पार्टीले रोकेको थिएन, सरकारलाई सहयोग गरिरहेकै थियो ।’