रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समुहको ‘बिषेश’ भनिएको सुनसरी जिल्ला कमिटी बैठक रामधुनीमा सम्पन्न भएको छ ।
बिहीबार रामधुनी वडा नं. ५ स्थित कल्पबृक्ष पार्टी प्यालेसमा प्रहरीको बाक्लो उपस्थितिकाबीच कार्यक्रम सम्पन्न भएको हो ।
‘बिषेश बैठक’ लेखिएको ब्यानरसहित ओली समुहले गरेको कार्यक्रममा नेकपाको राजनैतिक विभाजनपछि देखिएको साङ्गठनिक स्वरुपका बारेमासमेत छलफल भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. १ का वन तथा वातावरण मन्त्री जगदिश कुसियत, केन्द्रीय सदस्य भगवती चौधरी, प्रदेशसभा सदस्य सर्वध्वज सावाँ, संबिधानसभा सदस्यसमेत रहेका ओली समुहका नेता रेवती भण्डारीको उपस्थिति रहेको थियो । त्यस्तै तयेव हुसेन, इटहरी उप–महानगरपालिकाकी उपप्रमुख एवम् ओली समुहकी केन्द्रीय सदस्य लक्ष्मी गौतम, धरान उप–महानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, मुरारी सुवेदी, सरोज पोखरेल, खेमराज पोखरेल, विजय शुब्बा, मोती सुनुवार लगायतका नेताहरुको उपस्थिति रहेको ओली समुहका रामधुनीका नेता पुस्कर कार्कीले जानकारी दिए ।

बैठकले संसद विघटनको निर्णयलाई ‘बाध्यात्मक’ भनेको बताइएको छ । सरकारविरुद्ध कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने, मध्यावधी चुनाव सफल बनाउँने, जिल्ला, नगर हुँदै वडा तहसम्म पार्टीको संगठन बिस्तार गर्ने लगायतका महत्वपूर्ण निर्णय बैठकले गरेको बैठकमा उपस्थित ओली समुह एकजना केन्द्रीय सदस्यले हाम्रो शब्दलाई जानकारी दिएका छन् ।