रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ मा एउटा सरोना नामको मुसहर बस्ति छ । जुन बस्तिको एउटा सानो घरमा, २ सन्तान छेउछाउमै राखेर बसेकी थिइन समिरका सदा । श्रीमान ट्याक्टरमा काम गर्छन्, उनी घरमै घरधन्दा गर्छिन् । समिरकाका ३ जना छोराछोरी छन्, १८ बर्षीय छोरा विवेक, १७ बर्षकी छोरी विनिता र १५ बर्षका छोरा रितेश ।

कक्षा ५ सम्मको अध्यनपछि उनका जेठा छोरा विवेकले पढाई छाडे, अहिले उनी भारततिर रोजगारीका लागि पुगेका छन् । छोरी विनिताले पनि ८ कक्षामै पढाई छाडिन् ।
छोराले पढाई छाडेको धेरै भएपनि छोरीले छाडेको १ बर्ष मात्रै भयो । भरपर्दो रोजगारी छैन, ओफ्नो जमिन छैन । आर्थिक अभाव त छदैँछ, भनेको बेला कपी–किताव किन्नसमेत सक्दैनन् उनीहरु । त्यसमाथि पनि उनीहरुलाई शिक्षकले हेला गर्छन् ।
‘हामीले सोधेको कुरा पनि शिक्षकहरुले राम्ररी जवाफ दिनुहुन्न । उल्टै हप्काउछन्, बुझेका हुँदैनौँ । शिक्षकले ‘मुसहर किन स्कुल आउँनु, घुँगी टिप्न जानू नी’ भन्छन् । अनि कसरी विद्यालय जानू ? जानै मन लाग्दैन, पढ्ने वातावरण नै छैन ।’ कक्षा आठमै पढाई छाडेकी विनिता दुखेको पोख्छिन् ।
त्यस्तै, सोहि बस्तिको अर्को घरकी राधिका सदा विद्यालय जान छाडेको लामो समय भयो । उनी घरभन्दा केहि पर खेल्दै गरेको भेटिइन । उनी लकडाउनपछि विद्यालय जाने मनस्थितिमा छैनन् । किन विद्यालय नजाँने नानी ? भन्दा उनी खुल्दिनन्, त्यसको जवाफ उनकी आमा तारा सदा दिन्छिन्, भन्छिन्, ‘ड्रेस छैन, ब्याग छैन, किताव–कापी छैन, ६ जना छोरोछोरी छ कसरी स्कुल पठाउँनू ! जसोतसो पठाउँदै थियौँ, सरहरुले मुसहर किन स्कुल आउँनू, घुँगी मार्न जा भनेर गालि गरेछ, आजकल स्कुलभन्दा खेल्न मन पराउँछ ।’


कुनै दिगो रोजगारी नभएको र कहिलेकाही भेटेको बेला ज्यालादारीमा काम गरेर खाने आफुहरुको जीविकोपार्जनको आधार भएको तारा बताउँछिन् । उसै त चरम गरिबी त्यसमाथि पनि लामो लकडाउँन र कोरोनाको कहरले गर्दा आफुले छोराछोरीलाई कपी डट किन्दिनै नसक्ने अबस्थामा पुगेको उनी बताउँछिन् ।
यो सिंगो मुसहर गाउँमा कसैले पनि धेरै पढन् सकेका छैनन् । अहिलेका बालबालिका त विद्यालय जाने अबस्थामा छैनन् भने उनीहरुका बाबुआमाको झन के कुरा भयो र ! अहिले पनि उक्त बस्तिमा मात्रै विद्यालय जाने उमेर समुहका करिब २०–२५ जना बालबालिका विद्यालय नजाने गरेको स्थानीय बताउँछन् ।
मुसहर बस्तिको सबैभन्दा नजिकको विद्यालय भनकै श्री पञ्चायत आधारभूत विद्यालय हो । त्यहि भर्ना भएका छन् उक्त बस्तिका प्रायः मुहसर बालबालिका । विद्यालयको अबस्था नाजुग छ । विद्यार्थी पनि थोरै छन् । शिक्षकहरुलेसमेत अपमान गरेका कारण आफुहरु विद्यालय नजाने गरेको मुसहर समुदायका विद्यार्थी बताउँछन् । कसैले पनि लामो समय अध्यन गर्दैनन् । कोहि त विद्यालय नै जाँदैनन्, गएका पनि विचैमा छाडेर हिडछन् ।
मुसहर समुदायका बालबालिका विद्यालयमा टिक्न नसक्नुमा गरीबी र अशिक्षा मात्र नभई विद्यालयभित्रको कुशल व्यवस्थापन हुन नसक्नु पनि कारण रहेको मुसहर किशोरी बताउँछन् । उनीहरु भन्छन्, ‘पैसाको अभावले कापी, कलम जुटाउन सकिन्न अनि के जानु स्कूल ? त्यसमा पनि शिक्षकका अपमान, न राम्रो पढाई हुन्छ । शिक्षकको कुटाई मात्र खानुपर्छ ।’
‘बैसाखमा ममीले ब्याग किन्दिन्छु भन्नुभएको छ, अनि स्कुल जान्छु, नत्र जान्न’
त्यहि समुदायभित्र बसोबास गर्ने मनिषा राजधामी कक्षा ८ मा पढछिन् । लकडाउँनपछि उनलेसमेत विद्यालय बिर्सिएकी छिन् । आफुसँग स्कुल ड्रेस र ब्यागसमेत नभएकाले विद्यालय जान मन नलागेको उनी बताउँछिन् । ‘अहिले त अब के जानू ! सरको पनि कुटाई खाइन्छ, बरु घरमै बस्छु । बैसाखमा ममीले ब्याग किन्दिन्छु भन्नुभएको छ, अनि स्कुल जान्छु, नत्र जान्न ।’ उनी भन्छिन् ।

उनका बाबुआमा अर्काको खेतमा काम गर्छन्, आफ्नो खेतबारी उनीहरुसँग छैन । बाबुआमाको कुनै अर्को रोजगारी छैन । ब्याग र ड्रेस किन्ने तिब्र अभिलासा मनमा बोकेर बसेकी मनिषा आफुहरु गरिबीमा चुर्लुर्म डुबेर बाँच्नुपरेको बिवसता बुझ्ने भएकी छिन् । आफुहरुको खेतको साहुलाई दिन तयार पारेको धानको थुप्रो देखाउँदै उनी भन्छिन्, ‘यो धान बेच्न पाएको भए त पैसा आउँथ्यो झन् राम्रो हुन्थ्यो । तर आफ्नो खेत होइन । मालिकलाई नदिई हुँदैन ।’
सिंगो गाउँका बालबालिकासँग ड्रेस र ब्याग किन्ने पैसा छैन । कोहि बालबालिका त स्कुल छाडेर ज्यालामजदुरी गर्नसमेत जानेगरेको स्थानीय बताउँछन् ।
‘आजसम्म हामीले जनप्रतिनिधिलाई देखेको छैन’
मुसहर बस्तिको रिपोटिङ्को क्रममा भेटिए शम्भु सदा । माटो खन्दै गरेका उनी हेर्दा स्पष्ट र केहि बुझ्ने मानिसजस्ता देखिन्थे । हामीले जिग्याँसा राख्यौँ, ‘यो गाउँका बालबालिका विद्यालय जाँदैनन् रे हो ?’ उनले गलेको स्वरमा भने, ‘खै के भनौँ मेरो छोराछोरीले नै पढेन ।’ खासमा शम्भुका दुइजना छोराहरुले ५ कक्षा र ८ कक्षा पढेर बिचमै पढाई छाडेका रहेछन् । अहिले उनका छोराहरु २२ बर्ष र १८ बर्षका भैसेका छन् । ‘यो गाउँमा पढ्ने वातावरण नै छैन । केटाकेटी स्कुल जान मान्दैनन् । शिक्षकहरुले पनि पिटछ भन्छन् । गाउँलेले धेरै पटक स्कुलमा गएर कुटेको बिषयमा उजुरी पनि गरेको तर भएन ।’ उनि भन्छन् ।

गाउँलेलाई समस्या पर्दा कहिल्यै सरकारी निकाए र जनप्रतिनिधिको साथ नपाएको उनको गुनासो छ । ‘हामी गाउँले खासै थाहा पाउँदैनौँ । कसैलाई भन्न पनि जान्दैनौँ । लकडाउँन र के भन्छन् । ज्यालादारीमा काम गर्नेले काम पनि पाएका छैनन् ।’
‘जनप्रतिनिधिहरु तपाईहरुको गाउँमा आउँदैनन् ?’ भन्ने हाम्रो शब्दको प्रश्नमा उनले भने, ‘आजसम्म हामीले जनप्रतिनिधिलाई देखेको छैन । चिन्दैनौँ पनि । कहिल्यै आउँदैननन् ।’
कोको बालबालिका विद्यालय जाँदैनन् ?
हाम्रो शब्दले गरेको स्थलगत रिपोटिङ्को क्रममा करिब २०–२५ जना विद्यालय उमेर समुहका बालबालिका विद्यालय नजाने गरेको स्थानीयले बताएका छन् । जसमध्ये सम्भव भएसम्म विद्यालय जान छाडेका बालबालिकाको नाम हामीले टिपोट गरेका छौँ ।
१. सुजिता सदा, २.राधिका सदा ३.भुमिका सदा ४.रञ्जिता सदा ५.जानकी सदा ६.अञ्जु सदा ६.मञ्जु सदा ७.गीता सदा (सुँगुर फार्ममा काम गर्ने गरेको) ८.रीता सदा ९.अञ्जना सदा १०.मन्दिरा सदा ११.मनिता सदा १२.मनिषा राजधामी १३.ममता सदा (पहिला इटा भट्टामा काम गर्ने गरेको, अहिले निर्माण क्षेत्रमा लेबरको रुपमा काम गर्दै) १४.सोविन सदा १५.विवेक सदा १६.विनिता सदा ।
वडाअध्यक्ष हेमनारायण राजधामी भन्छन् : म आफैँ गएको थिएँ, वडाले सकेको सहयोग गर्छ
विद्यालयमा बालबालिका नजाने समस्या छ भन्ने सुनेर म सरोना मुसहरी बस्तिमा म आफैँ गएको थिएँ, केहि समयअघि । मैले भनेको थिएँ, ‘हाम्रै लागि हो पढ्न जानुपर्छ’ भनेर । जहाँसम्म शैक्षिक सामग्री अभाव भएको बिषय छ, त्यो बिषयमा वडा कार्यालयले सकेको सहयोग गर्छ । विद्यालयमा शिक्षकले अपमान गरेको भन्ने जुन कुरा छ, त्यो मैले हेडसरसँगै कम्प्लेन गरिसकेको छु । मेरो कम्प्लेनपछि १३ जना विद्यालय आउँन छोडेको बालबालिका विद्यालय आउँन थालेका थिए । अहिले फेरी छोडेका रहेछन् भने म बुझ्छु के रहेछ ! ढुक्क हुनुहोस् ति बालबालिकालाई वडाले सहयोग गर्छ ।