रामधुनी । जनता समाजवादी पार्टी (जसपा) का रामधुनी नगर कमिटी अध्यक्ष रामबहादुर खडकाले सुनसरीको रामधुनी नगरपालिकाले आर्थिक अनियमितता गरेको आशंका गरेका छन् ।
संसद विघटनको निर्णयविरुद्ध बुधबार जसपा रामधुनीले झुम्कामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष खडकाले यस्तो बताएका हुन् ।
कोरोनाका नाममा राज्यमा ठुलो अनिमितता मात्रै भएको र जनताले राहत नपाएको उनले बताए ।
‘रामधुनी नगरपालिकाले कोरोनासम्बन्धी खर्च सार्वजनिक नगर्नूले नगरपालिकाको नियतमाथि आशंका भयो । करोडौ खर्च गरिएको बिषय सार्वजनिक गर्नुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘तलदेखि माथिसम्म सरकार भ्रष्टाचारमा लिप्त छ । आफ्ना सारा कर्तूत ढाकछोप गर्न केपी ओली चुनावको नाटक गरिहरहेका छन् ।’
प्रधानमन्त्री ओलीको संसद विघटनसम्बन्धी निर्णय अंसबैधानीक भएको उनले बताए । निर्वाचनको नाटक मञ्चन गरेर ओलीले जनतालाई झुक्याउँन मात्रै खोजेको र उनी ज्ञानेन्द्र शाहकै मार्गमा अगाडि बढिरहेको खडकाको भनाई थियो ।
नेकपा र काङ्ग्रेसका जनप्रतिनिधि तलदेखि माथिसम्म भ्रष्टाचारमा लिप्त रहेकोसमेत खडकाको आरोप छ ।