रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला इन्चार्ज एवम् प्रचण्ड–माधव नेपाल समुहका केन्द्रीय सदस्य धर्मराज निरौलाले जनताको बहुदलीय जनवाद (जबज) पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम भएको बताएका छन् ।
मंगलबार अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले रामधुनीमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निरौलाले यस्तो बताएका हुन् ।
‘जनताको बहुदलीय जनवाद पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम हो । बिरामी भएका बेलामा ख्वाउँने बुटी होइन । त्यो निश्चित समयका लागि ल्याइएको कार्यक्रम हो । त्यसका अन्तरबस्तु बारेमा छलफल गर्दै जाउँला ।’ उनले भने, ‘आज ओली समूहमा लागेका जोकोहि आएपनि म जबजबारे बहस गर्न तयार छु । म पनि त्यहि घोकेर, पढेर, पढाएर आएको कार्यकर्ता हुँ ।’
हिजो माओवादीले भन्दै आएको २१ औँ सताब्दीको जनवाद, माओवाद र एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद एकताको महाधिवेशनसम्म स्थगित राख्दै महाधिवेशनमा त्यसमा छलफल गरेर अघि बढ्ने सहमतिमा केपी ओली आफैँले हस्ताक्षेर गरेर पनि त्यसलाई उनले नमानेको निरौलाको भनाई छ ।
प्रधानमन्त्री ओलीको कदम असंबैधानीक, अलोकतान्त्रीक र अनैतिक भएको उनले दोहोर्याए । उनले भने, ‘ओलीले गलत कदम चालेर त्यसलाई ढाकछोप गर्न उखान–टुक्का सुनाउँदै हिडिरहनु भएको छ । हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठलाईसमेत उहाँले ओझेलमा पार्नुभयो ।’
प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको समूह सच्चा कम्युनिष्ट पार्टी भएको ठोकुवा गर्दै दोधारमा नपर्न र कम्युनिष्ट आन्दोलनमा गोलबद्ध हुन उनले आम कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।