रामधुनी । पूर्व राज्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी चौधरीले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमरेड’ भन्नु नपर्ने बताएकी छिन् ।
मंगलबार अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले रामधुनीमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा चौधरी प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक बनेकी हुन् ।
‘श्री ५ केपी ओलीलाई हाम्रो पार्टीका ३२१ जना केन्द्रीय सदस्यले हस्ताक्षेर गरेर कारवाही गरिसकिएको छ । ओलीलाई ‘कमरेड’ भन्नुपर्दैन, म भन्दिन ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले पेपर दिने, विद्या भण्डारीले स्ट्याम्प लाउँदै जाने ? हामी पनि त्यस्तै महिला हो ? होइन हामी क्रान्तिकारी महिला हो ।’
गाउँगाउँमा ओलीका कार्यकर्तालाई बहिस्कार गर्नसमेत उनले आग्रह गरेकी छिन् । पार्टीको घोषणापत्र अनुसार ओलीले एउटा पनि काम नगरेर जनतालाई अपमान गरेको उनको भनाई छ ।
अहिले सारा अपराध ढाकछोप गर्न ओलीले उखान–टुक्का भनेर बसेको उनको आरोप छ । ‘ओलीलाई राजनीति गर्न आउँदैन, अनि उखान भनेर बसेका छन् । उखान त उनलाई कति आउँछ, आउँछ ।’ उनले भनिन् ।
झापामा ओलीले कम्युनिष्ट जनताको मतले नभई राजावादीको भोटले जितेको उनको भनाई छ ।