सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको एकमात्र क्याम्पस भादगाउँ सिनुवारी (भासी) बहुमुखी क्याम्पसलाई आफ्नै भवन बनाउँन जग्गा प्राप्त भएको छ ।
भासी स्कुलको भवनमा सञ्चालित उक्त क्याम्पसलाई वडा नं. ३ मा १० कठ्ठा जग्गा प्राप्त भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष संकरलाल चौधरीले जानकारी दिए ।
सञ्चालक समितिको पहलमा इटहरी उप–महानगरपालिका स्थायी घर भएका पुरुसोत्तम काफ्ले र रामधुनी नगरपालिकाका स्थायी बासिन्दा भीम लुइटेलले क्याम्पसलाई १० कठ्ठा जग्गा उपलब्ध गराएका हुन् ।
आइतबार रामधुनीका मेयर जयप्रकाश चौधरी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष चौधरी, क्याम्पस प्रमुख गोविन्द निरौला, सञ्चालक समितिका सदस्यसमेत रहेका वडाअध्यक्ष डेगराज फुयाल लगायतको उपस्थितिमा उक्त जग्गा क्याम्पसका नाममा नामसारी गरिएको हो ।

गएको असोज १७ गते सञ्चालक समितिका सदस्यसमेत रहेका नारायण प्रसाद काफ्लेको संयोजकत्वमा सञ्चालक समितिले जग्गा ब्याबस्थापन उप–समिति नै निर्माण गरेर जग्गाको खोजी गरेको थियो ।
संघ, प्रदेश र स्थानीय सरकार, विश्वविद्यालय अनुदान आयोग, संसद विकास कोषजस्ता विभिन्न निकाएबाट सहयोग जुटाएर ३ बर्षभित्रमा आफ्नै भवनसहित क्याम्पस सञ्चालन गरिने क्याम्पस प्रमुख निरौलाले बताए ।
२०६७ सालमा स्थापना भएको उक्त क्याम्पसमा हाल ब्यबस्थापन र शिक्षाशात्र संकाएको पठनपाठन हुँदै आएको छ । भासी त्रिभुवन विश्वविद्यालयबाट संबन्धन प्राप्त क्याम्पस हो ।