नेपालको संविधान जारी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा मूलुक गएसँगै दुईपटक आम निर्वाचन भइसकेको छ । दोस्रोपटकको स्थानीय तह निर्वाचन भएको पनि एकवर्ष पूरा भएको छ । यसबीचमा के गर्दैछन् जनप्रतिनिधि ? उनीहरूको कामकारबाहीबाट जनताहरु कत्तिको सन्तुष्ट छन् ? लगायतका विषयमा सुनसरीको बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, हाम्रो शब्दकर्मी सुबिन विश्वकर्माले मेयर कार्कीसँग गरेको कुराकानीको सम्पादित अंशः
एकवर्ष अगाडि यहाँले बराहक्षेत्र नगरपालिकाभित्र बिगतमा भएका भ्रष्टाचारको फाइल पल्टाउँने प्रतिबद्धता गर्नुभएको थियो, अहिलेसम्म किन पल्टाउँनुभएन ?
बोल्न सजिलो हुन्छ, तर पनि त्यसलाई कार्यान्वयन गर्ने पक्षमा लागिरहेका छौँ । नगर अस्पतालको सन्दर्भमा चरम लापरबाही भएको छ, त्यसको वास्तविकता चाडैँ बाहिर ल्याउँदैछौं । बेरुजुको सन्दर्भमा हामी आउँदा पनि अघिल्लो जनप्रतिनिधिले ७ करोड बेरुजु छोडेर जानुभएको हामीले पायौं, तर सबै बेरुजु भ्रष्टाचार नै भन्ने हुँदैन । तर होम पाइप, सोलार बत्तिको सन्दर्भमा भने अत्यन्त फल्ट नै देखिन्छ । भ्रष्टाचार नै देखिन्छ । जेकुरा कागजले बोल्छ, त्यसमा म एक इन्च पनि कन्जुस्याइँ गर्दिनँ । मैले भेटेका सबै फल्टहरुलाई गुपचुप नगरी सार्वजनिक गर्ने प्रयत्नमा छु । जोकोहीले गल्ती गरेको भए पनि कारबाहीको भागिदार बन्छ ।
तपाईं आफ्नो एक वर्षीय कार्याकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
धेरैकुरा परिवर्तन भएका छन् । हामी यहाँको धार्मिक पर्यटनलाई अब्बल बनाउन लागिरहेका छौ, कोशिटप्पुमा पर्यटन प्रवर्धन गर्न लागेका छौं । नगरबासीलाई जनप्रतिनिधि भएको भान गराउन लागिपरेका छौं । हिजोको बराहक्षेत्रमा कर्मचारीले तलब नपाएर आन्दोलन गर्ने, नगर अस्पतालमा सिटामोल नपाइने अबस्था थियो तर आज धेरै सुधार भएका छन् । नगर अस्पताललाई केही महिनामै हामीले जादुको छडी बनाएका छौ । तपाईं आफैले एकपटक अबलोकन गर्नुभयो भने हिजोको बराहक्षेत्र र आजको बराहक्षेत्रमा फरक पाउनुहुन्छ ।
महालेखाको प्रतिवेदनलाई टेकेर एउटा प्रश्न छ, तपाईंहरु पालिकाको बजेटमा पेट्रोल खर्च गर्न आउनुभएको कि बिकास गर्न ?
पेट्रोल कसरी खर्च भयो भनेर हेर्नुपर्छ । बिकास निर्माणमा यहाँको सामाग्री कत्तिको चलेका छन्, जनप्रतिनिधि कत्तिको खटेका छन् त्यसले निर्धारण गर्छ । आज हाम्रो कार्यकालमा जेसिबी लगायतका साधन सक्रिय छन्, पेट्रोलको भाउ बढेको अबस्था छ । पेट्रोलको लागि हामीले पहिला ५६ लाख र पछि २३ लाख छुट्याएका छौं ।
शिक्षा, स्वास्थ्य, यातायात लगायतका पूर्वाधारको क्षेत्रमा के उपलब्धि भएका छन् ?
शिक्षाको क्षेत्रमा धेरै ठूलो समस्याको रूपमा शिक्षक तथा कर्मचारी नियुक्ति र दरबन्दी मिलान देखिन्छ । यसको सन्दर्भमा हामीले सम्बन्धित विद्यालयको व्यवस्थापन समितिबाट निर्णय भएर आएपछि त्यसलाई समर्थन गर्ने गरेका मात्र छौ । हिजो सुर्यकुण्डमा पढाउन जाने शिक्षक अप्ठ्यारो बाटो हिडेर जानुपर्ने बाध्यता थियो भने अहिले बाइक चडेर जाने अबस्था छ । सामुदायिक विद्यालयको मनोभावना उच्च गर्नको निम्ति हामीले केही समय अगाडि केही विद्यालयलाई सम्मान पनि गर्यौ । अहिले बराहक्षेत्रका हरेक सामुदायिक विद्यालय यतिधेरै मेहनतका साथ लागेका छन् कि केहिदिन पछि यहाँका बोर्डिङ स्कुलहरु ब्याक पर्ने सम्भावना देख्छु ।
स्वास्थ्यतर्फ कुरा गर्दा साविक भरौल गाविसमा अस्पताल बन्ने प्रक्रिया सुरु भइसकेको छ । प्रदेश सरकारको ४० लाख बजेटमा अस्पतालको डिपिआर समेत तयार भइसकेको छ । सुनसरी ४ का सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा केही समयपछि सप्तकोसी बहुमुखी क्याम्पस छेउमा एउटा सुबिधासम्पन्न अस्पताल बन्ने छ ।
यातायाततर्फ धेरैको चासोको विषय बनेको बांगे–नडाह हुँदै धरान जाने सडकखण्ड कालोपत्रे गर्न सक्दो पहल गरिरहेकै छौ । ठेकेदार कम्पनी पिआर कन्स्ट्रक्सनलाई गुणस्तरीय र छिटो काम सम्पन्न गर्न दबाब दिइरहेका छौ । यसको अवधी पनि २०८१ चैत मसान्तसम्मको भएकाले अलि समय लागेकै हो । तर, हाम्रो चासो छ । अन्य स्थानतिर पनि तपाईंले हेर्नुभयो भने धेरै ठाउँमा कालोपत्रे भइसकेको र हुने क्रममा छ ।
एक वर्षकै अबधिमा तपाईंको आफ्नो पार्टी कांग्रेससँग सम्बन्ध चिसियो नि ?
त्यस्तो छैन । म जहाँ जान्छु, त्यहाँका सबै जनप्रतिनिधिदेखि पार्टी प्रतिनिधि समेतको साथ पाइरहेको छु । फेरि म अहिले बराहक्षेत्रको मेयर हो, त्यसपछि मात्र कांग्रेसको नगर सभापति हो । मेरो पहिलो जिम्मेवारी यहाँका जनताप्रति हो, त्यसपछि मात्र पार्टीका नेता तथा कार्यकर्ताप्रति हो । त्यसैले अहिले म पार्टीभन्दा माथी उठेर काम गरिरहेको छु ।
बराहक्षेत्रमा अहिले कर्मचारीको इसारामा जनप्रतिनिधि चलिरहेको भन्ने सुनिन्छ, त्यस्तै हो ?
रमेश कार्की आफैमा सक्षम व्यक्ति हो । कसैले टीका लगाएर होइन, धेरैको मन र मत जितेर आएको व्यक्ति हो । मसँग के कुराको गुण छ भने मैले सबै कर्मचारी, जनप्रतिनिधिहरुलाई सँगै मिलाएर लैजान सक्छु । लगिरहेको छु पनि । केही साथीहरूलाई यहि देखेर जलन भएको मात्र हो, अरु केहि होइन । फेरि कर्मचारीसँग मिल्नु पनि पर्छ नि । यहाँको विकास र समृद्धिको निम्ति मेयर एक्लैले नभ्याउने हुँदा कर्मचारीसँग मिलेकै हो ।
अब अन्त्यमा एउटा सिधा प्रश्नः सुकुम्बासीहरुले कहिलेसम्म धनिपुर्जा पाउछन् ?
हामी आएपछि भूमि आयोगसँग सहजीकरण गर्नको लागि बराहक्षेत्र नगरपालिकाको सर्वदलीय समिति बनायौं । बराहक्षेत्र ७ मा २०२२ सालदेखि बसोबास गर्दै आएका ३०३ परिवारको प्रतिवेदन जिल्ला भूमि आयोग सुनसरीमा पठाइसकेका छौ । तर, यहाँ हाम्रो बाधकको रूपमा नापी र वन आएको छ । उहाँहरुले वन क्षेत्रमा दिन मिल्दैन भन्दै हाम्रो रेकर्डलाई डिस्ट्रव गर्नुभएको छ । मैले आयोगको केन्द्रिय कार्यालयमा गएर समेत च्यालेन्ज गरेको छु कि बराहक्षेत्रका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास गर्दै आएका विपन्न परिवारलाई कुनै पनि बहानामा पूर्जा नदिने कुरा हामीलाई स्विकार्य हुँदैन । पूर्जा बाड्ने कुरामा रमेश कार्की जेल जान परे पनि परोस तर सुकुम्बासीलाई पूर्जा दिलाएरै छाड्छु ।