रामधुनी । भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली भूपू सैनिक तथा तिनका आश्रितहरूले हरेक वर्ष पेश गर्नुपर्ने जीवित प्रमाणपत्र लगायतका कागजी प्रक्रिया सहज बनाउन रामधुनी नगरपालिकामा आज विशेष सेवा शिविर सम्पन्न भएको छ ।
भारतीय राजदूतावास अन्तर्गत धरानस्थित पेन्सन वितरण कार्यालयको टोलीसहितको उपस्थितिमा उक्त शिविर संचालन गरिएको हो । विगत तीन वर्षदेखि संयुक्त भूपू शैनिक संगठन रामधुनीको सक्रिय पहलमा यस्तो सेवा शिविर नगरक्षेत्रमै सञ्चालन हुँदै आएको संगठन रामधुनीका सचिव नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, गाउँघरमै सेवा पुर्याउँने उद्देश्यले शिविर सञ्चालन गरिएको र यसबाट भूपू सैनिकहरू र तीनका परिवारलाई सहज भएको पेन्सन वितरण कार्यालय धरानका प्रशासनिक पर्यवेक्षक अनिल कुमार श्रेष्ठले बताए ।
शिविरमा जीवित प्रमाणपत्र हस्तान्तरण, मरुवा केश प्रमाणिकरण, आश्रित अद्यावधिक विवरण लगायतका सेवा प्रदान गरिएको संयुक्त भूपू शैनिक संगठन रामधुनीका अध्यक्ष मिठु अधिकारीले बताए । उनका अनुसार सेवा प्राप्त गर्न धरानसम्म धाउनु नपर्ने भएपछि भूपू सैनिकहरू उत्साहित भएका छन् ।
विशेष रूपमा यसपटक इटहरी उपमहानगरपालिका बस्ने १०१ वर्षीया जेष्ठ नागरिक विमला निरौलाले पनि जीवित प्रमाणपत्र प्रमाणिकरण सेवा लिएकी छन् । उनको उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको अध्यक्ष अधिकारीले बताए ।

रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट आएका ५ सय ४९ जना लाभग्राहीहरूले शिविरमा सेवा लिएको आयोजकले जनाएको छ ।

































Discussion about this post