रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ६ स्थित शंकरवेली सिमसार क्षेत्र यतिबेला ढकमक्क फुलेका शिरीषका फूलका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । हरियाली जंगल र फूलले ढाकिएको सिमसार क्षेत्र सामाजिक सञ्जालमा भाइरल बनेपछि दैनिक हजारौँ युवायुवती यहाँ पुग्न थालेका छन् ।
टिकटक, फेसबुक र युट्युवमा शंकरवेलीका भिडियो तथा तस्बिर व्यापक रूपमा साझा हुन थालेपछि भिडियो खिच्न, फोटो पोस्ट गर्न र प्राकृतिक दृश्य अवलोकन गर्न आउनेको भीड बढेको स्थानीयले बताएका छन् । धरानबाट पुगेकी कविता लिम्बूले सामाजिक सञ्जालमै दृश्य देखेपछि यहाँ आउन मन लागेको बताइन् । ‘टिकटकमा देखेरै मैले पनि आउने योजना बनाएको हो । भिडियोमा देखेजस्तै ठाउँ निकै सुन्दर रहेछ,’ उनले भनिन् ।
भ्लगर तथा कन्टेन्ट क्रिएटरहरू पनि आकर्षक दृश्यका कारण शंकरवेली पुगिरहेका छन् । यहाँको हरियाली र फूलले भिडियोलाई जीवन्त बनाउने भएकाले फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालका लागि शंकरवेली उपयुक्त लोकेसन बनेको छ ।
शंकरवेली सामुदायिक वन समितिका अनुसार अघिल्लो वर्षजस्तै यस वर्ष पनि स्थानीय युवायुवतीसँगै आसपासका जिल्लाबाट आउनेको संख्या उल्लेख्य रूपमा बढेको छ । ‘टिकटक, फेसबुकमा भिडियो भाइरल बनेपछि युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ । अघिल्लो वर्ष पनि यहाँ धेरै पर्यटक आएका थिए । यो वर्ष पनि फूल फुलेपछि पर्यटक बढेका छन्,’ समितिका एक सदस्यले भने ।
यतिबेला यस क्षेत्रमा साना व्यवसायसमेत चलायमान बनेका छन् । तर फूल फुलेको सिजनमा मात्रै पर्यटक आउने गरेका छन् । स्थानीयका अनुसार शिरीषको फूल जेठ महिनामा करिब एक महिनासम्म मात्रै फूल्ने भएकाले छोटो समयका लागि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ ।
अघिल्लो वर्षदेखि सामाजिक सञ्जालको प्रभावले पर्यटकको आगमन बढे पनि छोटो समयमै चहलपहल घट्ने भएकाले यहाँ दिगो रूपमा व्यवसाय स्थापना हुन सकेको छैन ।



































Discussion about this post