रामधुनी । औपचारिक मिति घोषणा भइनसकेको भए पनि नेकपा (एमाले) सुनसरी जिल्ला अधिवेशनको समयसीमा नजिकिएपछि नयाँ नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ । २०८१ जेठ मसान्तभित्र अधिवेशन सक्न परिपत्र गर्दै पार्टी केन्द्रले निर्देशन दिएपछि सुनसरीमा आकांक्षीहरूको दौडधुप बढेको हो ।
महासचिव शंकर पाखरेलले तोकेको मापदण्ड अनुसार वडाध्यक्षदेखि प्रतिनिधिसभा–राष्ट्रियसभा सदस्यसम्म निर्वाचित भएका व्यक्तिले जिल्ला अध्यक्षको उम्मेदवार बन्न नमिल्ने भएकाले कोशी प्रदेश सभा सदस्यसमेत रहेका बर्तमान अध्यक्ष रेवती रमण भण्डारी जिल्ला नेतृत्वबाट स्वतः बिदा हुनेछन् ।
अधिवेशनको समयसीमा नजिकिएपछि अध्यक्षका दाबेदार ३ जना नेताले दौडधुप बढाएका छन् । नेताहरु खेमराज पोख्रेल, निलम खनाल र नन्दकुमार बस्नेतले गतिबिधि तिब्र बनाएका हुन् ।
जिल्ला अध्यक्षका आकांक्षीमध्येका एक खेमराज पोख्रेल इनरुवा नगरपालिकाका पूर्व मेयरसमेत हुन् । गत अधिवेशनमा वर्तमान अध्यक्ष भण्डारीसँग पराजित भएका उनी पुनः चुनाव लडने मनस्थितिमा रहेका छन् । उनी तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत हुन् । २०२७ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा इनरुवा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उमेरले ६८ बर्षका पोख्रेल सुनसरीमा एमालेका पुराना नेताहरुमध्ये एक हुन् ।
त्यस्तै, जिल्ला अध्यक्षको चर्चामा रहेका अर्का नेता निलम खनाल बराहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुन् । पञ्चायत कालदेखि तत्कालीन नेकपा (माले) को प्रवास कमिटीमा जोडिएरसमेत काम गरेका खनाल त्यसपछि शिक्षक संगठनमा आबद्ध भएर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक लडेका नेता हुन् । हाल जिल्ला उपाध्यक्ष रहेका उनी अध्यक्षका बलिया दाबेदार मानिन्छन् । हक्की स्वभावका खनाल एमाले नेता–कार्यकर्तामाझ परिचित व्यक्ति हुन् ।
त्यस्तै, जिल्ला अध्यक्षका अर्का आकांक्षी हुन् पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका नन्द कुमार बस्नेत । रामधुनी नगरपालिका निवासी बस्नेत लामै राजनीतिक इतिहास भएका नेता हुन् । २०४१ सालमा आदर्श मावि बकलौरीमा विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षको रुपमा राजनीतिमा जोडिएका बस्नेत २०४६ सालदेखि सक्रियतापूर्वक कम्युनिष्ट राजनीतिमा होमिएका नेता हुन् । बस्नेतले सरल स्वभाव र इमानदार नेताको छवि बनाएका छन् । एमाले सुनसरीको उपाध्यक्ष र सचिवको भूमिकामा काम गरिसकेका बस्नेत माओवादी–एमाले एकता भएर बनेको नेकपाकालमा जिल्ला संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए । एमाले विभाजनका बेला माधव नेपाल समुहमा रहेका उनी अन्तिममा ‘दशबुँदे’ सहमतिपछि नेपालको साथ छाडदै एमालेमै बसेका हुन् ।
पार्टी विभाजनपछि एमालेभित्र गुट अन्त्य भएको दावी नेताहरुले गर्दै आए पनि जिल्ला अधिवेशनमा कम्तिमा दुई समूह बन्ने संभावना बलियो छ । सुनसरीमा पार्टी विभाजनका बेला माधव नेपालको साथ छाडदै ‘दशबुँदे’ सहमतिमार्फत एमालेमै बसेका नेता–कार्यकर्ताहरुको संख्या बाक्लो छ । अघिल्लो अधिवेशनमा प्रतिनिधि छनौट लगायतमै अध्यक्ष केपी ओली लाइनले पेलेर चुनाव हराएपछि ‘दशबुँदे’ समुहका नेता–कार्यकर्ता रुष्ट छन् । त्यसैले पार्टीभित्रको द्वन्द्व र अन्तरविरोध अन्त्यका लागि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य गरिरहे पनि जिल्ला अध्यक्षका लागि विभिन्न नेताहरूले आकांक्षा राख्दै आएका छन् ।
जिल्ला अध्यक्षका दावेदारमध्ये बस्नेत ‘दशबुदे’ पक्षधर हुन् भने खनाल ओली लाइनका नेता हुन् । आफुलाई ‘संस्थापन पक्ष’ भएको दावी गर्दै आएका खेमराज पोख्रेल ‘दशबुदे’ लाइनका प्रभावशाली नेता मानिने पूर्वमुख्यमन्त्री भिम आचार्यसँग व्यक्तिगत रुपमा नजिक भएका कारण उनलाई ‘दशबुदे’ कित्तामा उभ्याइने गरेको छ । उनै आचार्यको समर्थनमा अघिल्लो अधिवेशनमा पोख्रेल जिल्ला अध्यक्ष र बस्नेत उपाध्यक्षमा लडेका थिए । तथापी दुवैले चुनाव भने हारे । अघिल्लो पटक मिलेर चुनाव लडेकाले आसन्न अधिवेशनमासमेत पोख्रेल र बस्नेत सहमति गरेर जानसक्ने संभावना रहेको एमाले सुनसरीका एक नेताले बताए । ती नेताले भने, ‘अघिल्लो पटक सहकार्य भएको हो, यो पटक पनि उहाँहरुबीच सहकार्यको संभावना देखिन्छ । तर, दुवैजना अध्यक्षको दाबेदार भएकाले यसै हो भन्न सकिन्न ।’
जिल्ला अध्यक्षमा धरान निवासी मुरारी सुवेदी, इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतम लगायतलेसमेत आकांक्षा राखेका छन् । बर्तमान अध्यक्ष भण्डारीलेसमेत इटहरीकी पूर्व उपमेयर गौतमलाई आफ्नो उत्तराधिकारी बनाउनका लागि पार्टी केन्द्रमा लभिङ गरिरहेको भए पनि केन्द्रले पत्याइहाल्ने अवस्था भने छैन ।
पार्टी राजनीतिमा लागेपछि नेतृत्वमा जान सबैले आकांक्षा राख्नू स्वाभाविक भएको वर्तमान जिल्ला अध्यक्ष भण्डारी बताउँछन् । हाम्रोशब्दसँगको कुराकानीमा उनले भने, ‘अधिवेशन जेठको पहिलो सातासम्ममा हुन्छ । विभिन्न साथीहरुले आकांक्षा राख्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुन्छ । त्यसो नहुँदा चुनावमा जाने हो । पार्टी राजनीतिमा लागेपछि नेताहरुले नेतृत्वमा जान आकांक्षा राख्नूलाई स्वाभाविक मान्नुपर्ने हुन्छ ।’