रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले भूमि व्यवस्थापनतर्फ करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा विवादित बनेपछि छानविन समिति गठन गरिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवले परीक्षाको नतिजाबारे सार्वजनिक रूपमा प्रश्न उठेकाले छानविन समिति गठन गर्न लागिएको बताएका छन् । हाम्रोशब्दसँगको फोन संवादमा यादवले हिजो बसेको सर्वदलीय बैठकले समेत समिति गठन गर्न सिफारिस गरेको र छानविनपछि समितिको प्रतिवेदनका आधारमा आवश्यक कदम चालिने बताए । उनले भने, ‘परीक्षाको नतिजाका सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठेका छन् । ती प्रश्नहरूमा नगरपालिका गम्भीर छ । हिजो बसेको सर्वदलीय बैठकले समेत समिति बनाउने भनेको छ । त्यसैका आधारमा हामी समिति बनाउने तयारीमा छौँ । चाँडै छानविन समिति बन्छ ।’
नगरपालिकाका सूचना अधिकारी सुमन पौडेलका अनुसार हिजो बसेको सर्वदलीय बैठकले तीन सदस्यीय छानविन समिति गठन गर्न सिफारिस गरेको थियो । तर, आज बसेको नगर कार्यपालिकाको बैठकले सर्वदलीय बैठकको उक्त सिफारिस ग्रहण गर्ने निर्णय गरे पनि आजै समिति गठन भने नगरेको पौडेलले हाम्रोशब्दलाई बताए । उनले भने, ‘हिजोको सर्वदलीय बैठकले तीन सदस्यीय समिति गठन गर्ने सिफारिस गरेको थियो । सर्वदलीय बैठकको सिफारिस र सुझाव ग्रहण गर्ने भन्ने निर्णय भएको छ । तर, छानविन समिति भने आज बनेन ।’
प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार प्रस्तावित छानविन समितिमा जिल्ला प्रशासन कार्यालयबाट एक जना, नगरपालिकाबाट एक जना र आईटी विज्ञ एक जना रहने सम्भावना छ । यद्यपि समितिमा कस-कसलाई राख्ने भन्ने विषयमा अन्तिम टुंगो लागिसकेको छैन । काम विशेषले काठमाडौंमा रहेका यादव आजको कार्यपालिका बैठकमा सहभागी हुन नसकेको बताए ।
नतिजाप्रति असन्तुष्ट स्थानीयले मंगलबार नगर प्रमुख शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादवको कार्यकक्षमा तालाबन्दी गरेका थिए । छानविन समिति गठन गर्ने सहमति भएपछि बुधबार ताला भने खोलिएको छ ।
नगरपालिकाले मालपोत कार्यालयको सेवा सञ्चालन गर्ने तयारीसँगै ६ जना सहायक कम्प्युटर अपरेटर नियुक्तिका लागि गत आइतबार लिखित परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
नतिजामा नाम सार्वजनिक भएकामध्ये अधिकांश नगरपालिका निकट व्यक्तिका आफन्त रहेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । उनीहरूले परीक्षा तथा छनोट प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै नतिजा रद्द गरी निष्पक्ष छानविन गर्न र दोषीमाथि कारबाही गर्न माग गर्दै आएका छन् ।


































Discussion about this post