रामधुनी । बालबालिकामा मोबाइलको अत्यधिक प्रयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ । मोवाइल, टिभी, ल्यापटपलगायत डिजिटल उपकरणको अत्यधिक प्रयोगले उनीहरूको सर्वाङ्गीण विकासमा असर परिरहेको भन्दै गाउँ–गाउँमा खेलमैदान बनाएर बालबालिकाको शारीरिक गतिविधि बढाउनु आवश्यक रहेको सरोकारवालाहरूको बताएका छन् ।
सोमबार रामधुनी नगरपालिकाले आयोजना गरेको ‘बालमैत्री कार्यक्रमको दिगोपना अन्तर्गत बालमैत्री सूचकसम्बन्धि सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम’ मा सहभागीहरुले यस्तो बताएका हुन् । ‘हरेक क्षेत्रमा डिजिटल उपकरणको प्रयोग बढदो छ । खास गरेर बालबालिकामा मोबाइलको लत परेको छ । त्यसो हुँदा उनीहरुको शारीरिक गतिविधि घट्दै गएको छ । सामाजिक बन्न सकिरहेका छैनन्’ स्थानीय नाइटिङ्गेल एकेडेमीका सञ्चालक चुडामणि घिमिरेले भने, ‘हाम्रो नगरपालिका शहरीकरणउन्मुख छ । अहिले नै गाउँमा खेल्ने ठाउँ छैन । भबिष्यमा घरहरु थप बाक्ला हुँदै जादा त झन खाली ठाउँ रहदैन । त्यसो हुँदा शारीरिक गतिविधि घट्दै गएको र मानसिक तथा सामाजिक स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको छ । हामीले गाउँ–गाउँमा खेलमैदान बनाउँनु आवश्यक छ ।’
त्यस्तै जनता माध्यमिक विद्यालय सिङगीयाका प्रधानाध्यापक धनिकलाल मेहताले गाउँमा पर्याप्त खेल्ने ठाउँ नहुँदा बालबालिकाले बाटोमै ब्याडमिन्टन, क्रिकेटलगायत खेल खेल्ने गरेको बताए । उनले भने, ‘कहिलेकाही म विद्यालय आउँदा, जाँदा देख्छु–बाटोमै ब्याडमिन्टन, क्रिकेट खलिरहेको । अरु पनि खेल खेलिरहेका हुन्छन् । बाटोमा खेल्नु त राम्रो होइन । खेल्ने ठाउँ नभएर न बाटोमा खेल्छन् । मोबाइलबाट बच्चा जोगाउँन हामीले खेल्ने ठाउँको प्रबन्ध प्रत्येक एरियामा गर्नु आवश्यक भइसकेको छ ।’
बालबालिकालाई बाहिरी खेलकुदमा सहभागी गराउँन नसक्दा उनीहरू घरभित्रै बस्न बाध्य भएका कारण मोबाइलमा समय बिताउने तथा कुलतमा फस्ने गरेको नमुना नगर बाल सञ्जाल रामधुनीका सल्लाहकार निरज बस्नेतले बताए । ‘हाम्रो नगर बालमैत्री नगरपालिका हो । साच्चिकै बालमैत्री हो भनेर निर्धक्कसाथ भन्नसक्ने हुनुपर्छ । बालबालिकालाई बाह्य खेलकुदमा सहभागी गराउँन नसक्दा घरभित्रै बस्न बाध्यताजस्तै छ । त्यसैको असर भनेको मोबाइलमा समय बिताउने, कुलतमा फस्ने गरेको देखिन्छ ।’
स्थानीय सरकारको हैसियतले नीति तथा कार्यक्रममा नै प्रत्येक बस्तीमा खेलमैदान बनाउँने बिषय समेटन र त्यसका लागि पर्याप्त बजेट विनियोजन गर्न सहभागीले नगरपालिकालाई सुझाएका छन् । गाउँमा खेल्ने ठाउँ नहुँदा बच्चाहरू इन्टरनेट गेम खेल्ने, सामाजिक सञ्जालमा समय बिताउने, बढाइमा ध्यान नदिने गरेका कारण बालबालिका सिर्जनात्मक बन्न नसकेको सहभागीहरुको भनाई थियो ।
खेलकुदका माध्यमबाट बालबालिका स्वस्थ, सिर्जनात्मक र क्रियाशील हुने भएकाले गाउँ–गाउँमा खेलमैदान बनाउँनुपर्ने बिषय सकारात्मक भएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए । नगरका विभिन्न ठाउँमा खेलमैदान रहेको र नभएका ठाउँमा खाली जमिनलाई प्रयोग गरेर खेलमैदानको रुपमा बिकास गर्न सकिने उनको भनाई छ । कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापालगायत विभिन्न सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको थियो ।

































Discussion about this post