रामधुनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले सुनसरीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरको सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् ।
गत शुक्रबार साँझ रामधुनी नगरपालिका-४ स्थित रामधुनी मन्दिरको दर्शन तथा अवलोकनका क्रममा पुगेका मन्त्री पौडेलले स्थानीयसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । मन्दिर व्यवस्थापन पक्षले मन्दिर परिसरमा राज्यको सुरक्षा निकायको उपस्थिति कमजोर रहेको गुनासो गरेपछि उनले त्यस विषयमा चासो देखाएका हुन् ।
करिब तीन हजार १०० विगाहा क्षेत्रफलमा फैलिएको धुनी वनको बीचमा अवस्थित मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । घना जंगलको बीचमा रहेको मन्दिरमा पर्याप्त सुरक्षा व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ ।
स्थानीयले सुरक्षा व्यवस्थाबारे गुनासो गरेपछि मन्त्री पौडेलले स्थानीय प्रहरी चौकी सिंगीयामार्फत सुरक्षा व्यवस्थापन गर्न सकिने धारणा राखेका थिए । तर सिंगीया प्रहरी चौकीमा १० जनाको दरबन्दी रहे पनि हाल पाँच जना मात्रै प्रहरी कार्यरत रहेको जानकारी पाएपछि उनले सुरक्षाको अवस्थाप्रति थप गम्भीर चासो व्यक्त गरेका थिए ।
मन्त्रीसँगै मन्दिर पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्कासँग मन्त्री पौडेलले तत्काल सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । हाल कार्यवहाक जिल्ला प्रहरी प्रमुखसमेत रहेका डीएसपी खड्काले मन्त्री पौडेलसँग कुरा गर्दै सुनसरीमा अस्थायी प्रहरी चौकीको संख्या धेरै भएकाले उपलब्ध जनशक्ति व्यवस्थापनमा चुनौती रहेको बताए ।
मन्त्री पौडलसँग भएको कुराकानीबारे डिएसपी खड्काले भने, ‘जिल्लामा ९० वटा प्रहरी युनिट सञ्चालनमा छन् । तीमध्ये ४५ वटा अस्थायी हुन् । दरबन्दी नभएका चौकीमा पनि जनशक्ति मिलाएर प्रहरी खटाउनुपर्ने अवस्था छ । त्यही अवस्था मन्त्रीज्यूलाई जाहेर गरेका छौँ ।’
रामधुनी मन्दिरको सुरक्षाका लागि स्थानीय प्रहरी चौकी सिंगियामा जनशक्ति अभाव महसुस भएकाले थप तीनदेखि चार जना प्रहरी खटाउने तयारी भइरहेको डिएसपी खड्काले हाम्रोशब्दलाई जानकारी दिए ।
थप प्रहरी कहिलेसम्म परिचालन हुन्छ भन्ने हाम्रोशब्दको प्रश्नमा डीएसपी खड्काले भने, ‘हामी त्यसको व्यवस्थापन गर्दैछौं । करिब एक सातादेखि १० दिनभित्र थप प्रहरी पठाउने योजना छ । सिंगिया चौकीमा प्रहरी जनशक्ति थपेपछि मन्दिरको सुरक्षा त्यहि चौकीमार्फत नै हुनेछ । मन्दिरको सुरक्षा जिल्ला प्रहरी कार्यालयको प्राथमिकतामा छ ।’
मन्दिर परिसरमै मन्त्री पौडेलले सुनसरी-३ का प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीलाई सुरक्षा व्यवस्थापनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए । ‘सुरक्षा व्यवस्थाका लागि पहल गर्नुपर्ने देखियो, त्यसलाई फलो गर्नुहोला’ भन्दै उनले सम्बन्धित निकायसँग समन्वय गर्न सांसद चौधरीलाई आग्रह गरेका थिए । सांसद चौधरी प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत हुन् ।
मन्त्री पौडेलको भ्रमणमा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराई, सिर्जना श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ताकोसमेत सहभागिता रहेको थियो ।



































Discussion about this post