रामधुनी । नेपाली कांग्रेसको आसन्न नगर अधिवेशन नजिकिएसँगै सुनसरीको रामधुनी नगर सभापतिका लागि चार जना नेताहरू आकांक्षी देखिएका छन् । वर्तमान नगर सभापति सुदीप अधिकारीले यसपटक नगर सभापतिमा दोहोरिन नचाहेको र क्षेत्रीय सभापतिका लागि तयारी गरेपछि नगर सभापतिका लागि चार नेताको नाम चर्चामा आएको हो ।
नगर सभापतिका लागि रामधुनी–४ का पूर्ववडाध्यक्ष एवं कांग्रेस नेता मनेशकुमार चौधरी, रामधुनी–५ का वडाध्यक्ष भोला बास्तोला, झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार चौधरी र रामधुनी–१ का वडाध्यक्ष महेशकुमार चौधरीको नाम चर्चामा छ ।
पूर्ववडाध्यक्ष मनेशकुमार चौधरी आफू पार्टीमा लामो समयदेखि सक्रिय रहेकाले नेतृत्वमा ‘सर्वसम्मत’ ढंगबाट जिम्मेवारी पाउनुपर्ने धारणा राख्दै आएका छन् । पार्टीभित्रको आफ्नो वरिष्ठता र अनुभवलाई उनले नेतृत्वका लागि आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
भोला बास्तोला यसअघि कांग्रेसको वडा सभापतिको जिम्मेवारीमा थिए । स्थानीय तह निर्वाचन २०७९ मा रामधुनी–५ बाट लोकप्रिय मतसहित वडाध्यक्ष निर्वाचित भएका उनी स्थानीय तहमा जनप्रतिनिधिका रूपमा सक्रिय छन् । पार्टी संगठन र स्थानीय जनप्रतिनिधिको भूमिकामा रहेको अनुभवका आधारमा पार्टी नेतृत्वका लागि आफू तयार रहेको उनको दाबी छ ।
त्यस्तै, नवीनकुमार चौधरी व्यावसायिक पृष्ठभूमिबाट कांग्रेसको नगर सभापतिको चर्चामा आएका छन् । उनी झुम्का उद्योग वाणिज्य संघका अध्यक्षका रूपमा कार्यरत छन् । व्यवसायीहरूसँगको सम्बन्ध र उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको अनुभवलाई उनको दाबेदारीसँग जोडेर हेरिएको छ ।
महेशकुमार चौधरी भने पार्टी संगठन र जनप्रतिनिधिको अनुभवलाई आधार बनाएर सभापतिका लागि आकांक्षी देखिएका छन् । उनी २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा रामधुनी–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा पुनः वडाध्यक्षमा निर्वाचित भएका उनी हाल पनि जनप्रतिनिधिको भूमिकामा छन् । चौधरी कांग्रेस रामधुनी नगर समितिका सचिवसमेत हुन् । नगर सचिवका रूपमा पार्टी संगठनमा काम गरिसकेको अनुभवका कारण आफू नगर सभापतिका लागि योग्य रहेको चौधरीको दाबी छ ।
चार नेताको नाम चर्चामा आए पनि अधिवेशनको मिति नजिकिँदै जाँदा सर्वसम्मत नेतृत्व छान्ने प्रयासमा माथिल्लो तहका नेताहरू सक्रिय रहेको कांग्रेसका एक स्थानीय नेताले बताए । ‘हालका सभापति सुदीपजी पनि सहमतिमै नेतृत्व छान्ने पक्षमा हुनुहुन्छ । हामी पनि त्यही पक्षमा छौँ । जिल्ला नेताहरू पनि लागिरहनुभएको छ,’ हाम्रोशब्दसँग उनले भने, ‘आकांक्षीहरूमा पनि भर पर्छ । तर अहिलेको अवस्थामा निर्वाचनभन्दा पनि सहमतिबाटै नेतृत्व छान्नु आवश्यक छ । स्थानीय र प्रदेशको निर्वाचन पनि नजिकै आउँदैछ ।’
कांग्रेस रामधुनी नगर अधिवेशन आगामी असोज ७ गते हुँदैछ । अधिवेशनले नगर सभापतिसहित नयाँ नेतृत्व चयन गर्नेछ ।




































Discussion about this post