धरान । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम गाउँकै एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा होटलबाट रंगेहात पक्राउ परेका छन् ।
शनिबार दिउँसो धरानको एक होटलबाट गौतमलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरे ।
गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानले शंका लागेर श्रीमती र गौतमको फलो गर्दै होटलसम्म पुगेका थिए । उनकै सूचनाको आधारमा प्रहरीले परस्त्रीसहित वडा अध्यक्ष गौतमलाई पक्राउ गरेको हो ।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।