रामधुनी । धरानको शुभकामना होटलबाट गाउँकै एक महिलासँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा शनिबार रंगेहात पक्राउ परेका रामधुनी वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतमलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
एमाले सुनसरी जिल्ला कमिटी सदस्य रहेका वडा अध्यक्ष गौतमलाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका बिषयबस्तुका आधारमा घटनाको निरूपण नहुँदासम्मका लागि पार्टीबाट निलम्बन गरिएको एमाले सुनसरीका उपसचिव राम कोइरालाले हाम्रोशब्दलाई जानकारी दिए ।
आइतबार बसेको पार्टी जिल्ला कमिटीको दशौँ पूर्ण बैठकले गौतमलाई निलम्बन गर्दै उक्त घटनाको छानविन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।
उपसचिव कोइरालाको संयोजकत्वमा बनाइएको समितिमा रामधुनी नगरपालिकाकी उपप्रमुखसमेत रहेकी तारा थापा र अधिवक्ता विरेन्द्र बस्नेत सदस्य छन् । छानविन समितिलाई घटनाको अध्यनका लागि १५ दिनको समय दिइएको र समितिको प्रतिबेदनका आधारमा दोषी देखिए गौतममाथि पार्टीले आवश्यक कारबाही गर्ने एमाले जिल्ला कमिटीले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमासमेत वडा अध्यक्ष निर्वाचित भएका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका थिए ।