रामधुनी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सदस्य तथा रामधुनी नगरपालिका-५ का पूर्व वडाध्यक्ष डेगराज फुँयालले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति बिद्या देवी भण्डारीलाई निसर्त रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् ।
अनेरास्ववियु सुनसरीका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका फुँयालले सामाजिक सञ्जाल (फेसबुक) मार्फत यस्तो माग गरेका हुन् । उनले जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्म शक्ति-संघर्ष नभई विचार, संगठन र जनविश्वासको एकता रहेको उल्लेख गरेका छन् ।
उनले विभाजित बामपन्थी आन्दोलनलाई पुनः एकीकृत गरेर नयाँ ऊर्जा दिने ऐतिहासिक अवसर सिर्जना भएको दाबी गर्दै यस्तो संवेदनशील मोडमा व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टी, आन्दोलन र राष्ट्रको दीर्घकालीन हितलाई प्राथमिकता दिन आवश्यक रहेकोसमेत बताए ।
उनी भन्छन्, ‘यदि केपी ओलीले निसर्त रूपमा बिद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने साहसिक निर्णय लिनुहुन्छ भने त्यसले केवल नेतृत्व परिवर्तन मात्र होइन, समग्र बामपन्थी आन्दोलनको पुनर्जागरणको आधार तयार गर्न सक्छ ।’
फुँयालले वर्तमान समयको माग व्यक्तिकेन्द्रित राजनीति नभई साझा नेतृत्व, वैचारिक स्पष्टता र पुस्तान्तरणसहितको एकीकृत बामपन्थी ध्रुवीकरण भएको जिकिर गरेका छन् । जबजको मार्गमा अघि बढ्न त्याग, सहमति र एकताको संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाई छ ।
एमालेभित्र आगामी नेतृत्वबारे बहस चलिरहेका बेला सुनसरीका स्थापित नेतामध्ये एक मानिने उनको यो सार्वजनिक अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भाद्र २३–२४ गतेको जेनजी बिद्राह र गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले लज्जास्पद हारपछि अध्यक्ष ओलीले नेतृत्व छाडनुपर्ने माग एमालेभित्र र बाहिर ब्यापक रुपमा उठिरहेको छ ।


































Discussion about this post