रामधुनी । इटहरी खानेपानी उपभोक्ता संस्थाका पूर्वअध्यक्ष रामप्रसाद चौलागाई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका सुनसरीका स्थापित नेता चौलागाईले करिब दुई महिनाअघि एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँगको तस्वीर सार्वजनिक गर्दै पार्टीको सदस्यता लिएको जानकारी दिएका हुन् ।
इटहरी खानेपानीको अध्यक्षका रूपमा तीन कार्यकाल नेतृत्व गरेका चौलागाई २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर पदका आकांक्षी थिए । तर एमालेबाट उम्मेदवार बन्ने अवसर नपाएपछि उनी पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेका थिए । पार्टीभित्र सम्मानजनक जिम्मेवारीसमेत नपाएको गुनासो गर्दै आएका चौलागाईले एमाले छोडेका थिए ।
आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा पनि श्रम संस्कृति पार्टीबाट मेयर पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको चर्चा भइरहेको छ ।


































Discussion about this post