कोरोना कहरले थलिएर भर्खरै उठ्दै गरेको शैक्षिक गतिबिधि पश्चात राष्ट्रिय परीक्षा बोर्डले गत चैत्र महिनामा संचालन गरेको एसईईको नतिजा असारको अन्तिम हप्ता प्रकाशन गर्यो । नतिजा प्रकाशनको पूर्व सन्ध्यासम्म कुन कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने भन्ने टुंगो हुन सकेको थिएन । नयाँ कार्यविधि २०७८ अनुसार नतिजा प्रकाशन गर्दा करिब ५०% विद्यार्थीले कक्षा ११ मा भर्ना नपाउने देखेरै पुरानो कार्यविधि २०७२ अनुसार नै नतिजा प्रकाशन भयो । यसले समग्रमा धेरै विद्यार्थीहरुले कक्षा ११ मा पढ्ने अवसर नतिजाले दिलायो ।
तर, जुन विद्यार्थीहरुले भर्खरै विभिन्न ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेका छन्, तिनीहरु मध्ये करिव ३० देखि ४० प्रतिशतलाई नै एसईईको पुरा रुप थाहा नहुनसक्छ । आफैले दिएको परीक्षा के हो भन्ने थाहा नपाई कक्षा ११ मा भर्ना गर्ने समय आइसकेको छ । एसईई संचालन प्रक्रियासमेत हेर्दा विद्यालयले लिने आवधिक परीक्षा भन्दा फितलो र धेरै विद्यार्थीले अलिक राम्रो विद्यार्थीको नक्कल गरी एउटै उत्तर लेख्ने गरेको देखिन्छ । यो प्रक्रिया सामुदायिक विद्यालयका विद्यार्थी भन्दा संस्थागत विद्यालयका विद्यार्थीमा अझ बढी समन्वय भएको देखिन्छ ।
एसईईको उत्तरपुस्तिका परीक्षणमा पनि उही प्रश्नका समान उत्तरहरु लेखेको पाइन्छ । विद्यालयको नतिजा उच्च देखाउनका लागि संस्थापकहरुनै सिट प्लानिङमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकहरुसँग समन्वय गर्नेदेखि प्रभाव पार्ने कोशिस गरेको सुन्न पाइन्छ । अर्कोतर्फ यसपाली एसईई उत्तीर्ण विद्यार्थीहरुको ८ विषय मध्ये ६ विषयमा प्रयोगात्मक वापत प्रत्येकमा २५ पूर्णाङ्क वापत विषय शिक्षकले कृपाङ्क २० भन्दा माथि दिएको देखिन्छ, जसका कारण पनि विद्यार्थीहरुको जिपिए उच्च हुन गएको छ ।
अत:यसैबाट हाम्रा विद्यार्थीहरुको पढाईको स्तर आँकलन गर्न सकिन्छ की ! केही राम्रा अब्बल विद्यार्थी बाहेक अधिकांशले आफ्नो वास्तविक क्षमता के हो भन्ने कुरा नत स्वयमले मनन गरेका छन्, नत आफ्ना छोरा छोरीको क्षमता, चाहना, रुची अभिभावकले बुझेका छन् । अझ अभिभावकहरु त आफ्ना छोराछोरीले पढाईमा ध्यान नदिए पनि उच्च अङ्क प्राप्त गरेकामा मख्ख परेर बसेका छन् । केहीलाई छाडेर धेरै जसो बालबालिकाको हालत माथि बर्णन गरिए जस्तै छ । संस्थागत तथा सामुदायिक विद्यालयहरुले कक्षा ११ मा भर्नाका आकर्षक ब्यानर, पोस्टर, अनलाइन प्रचारप्रसार गरिरहेका छन् । घर घर विद्यार्थीहरु बटुल्न कुदिरहेका छन् । संकाय नै नरहेको कक्षा ११ र१२ को पाठ्यक्रमलाई यो र ऊ संकायमा भर्ना खुल्यो भनिरहेका छन् । यद्यपि, गतबर्ष देखिनै ११ र१२ मा संकाय छैन । कक्षा ११ र १२ लाई पनि विद्यालय तहकै शिक्षामा रुपान्तरण गरिएको छ । त्यसैले कक्षा ११ मा भर्ना हुँदा विषय छनोटमा विशेष ध्यान दिइनुपर्ने हुन्छ । अहिले विषय छनोटमा ध्यान नदिए उच्च शिक्षामा कुन संकाय पढ्ने अथवा के पढ्ने भन्ने कुरामा ठूलो समस्या आउँछ । गतवर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएको छ । जसमा साधारण, प्राविधिक र परम्परागत शिक्षामा आधारित विषय रहेका छन् ।
साधारण शिक्षा अन्तर्गत विद्यार्थीले कक्षा ११ मा ८ सय ६४ घण्टामा २७ क्रेडिट आवर पढ्नुपर्छ (१ क्रेडिट आवर बराबर ३२ कार्यघण्टा हुन्छ) भने कक्षा १२ मा पनि यहिसँग सम्बन्धित बिषय नै पढ्नुपर्ने हुन्छ । कक्षा ११ र १२ मा ६/६ ओटा विषय पढ्नुपर्छ । जसमा अनिवार्य विषयका रुपमा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित पढ्नुपर्ने हुन्छ । यी बाहेक अन्य तीनवटा ऐच्छिक विषय पाठ्यक्रममा तोकिएका पहिला ३ ओटा समूह बाट १/१ ओटा छनोट गर्नुपर्ने हुन्छ । यसका साथै विद्यार्थीले चौथो समूहबाट थप ऐच्छिक विषयका रुपमा एउटा विषय पढ्न पाउँनेछन् ।
प्राबिधिक विषयका हकमा एसईईपछि विद्यार्थी प्राविधिक शिक्षा डिप्लोमा र प्रि–डिप्लोमा गरी दुई वटा कोर्स पढ्न पाउँछन् । डिप्लोमा ३ वर्षे कोर्ष रहेको हुन्छ भने प्रि–डिप्लोमा १८ महिने कोर्ष हुन्छ । यस अन्तर्गत स्वास्थ्य (नर्सिङ, फार्मेसी आदि) हस्पिटालिटी (होटेल एण्ड टुरिजम), इन्जिनियरिङ र कृषि, भेटनरी, फुड टेक्नोलोजी आदि जस्ता विषय पर्दछन ।
भर्खरै एसईईको नतिजा हातमा लिएर बसेका भाइबहिनीले कक्षा ११ मा कुन विषय पढ्ने र कस्ता विद्यालय तथा कलेजमा भर्ना हुने भन्ने विषयमा छोटो चर्चा गरौ । धेरै जसो अभिभावकहरुले छोराछोरीको एसईई हेरेर बिषय छनौट गर्न दबाब दिने गरेको पाइन्छ । विज्ञ तथा आफु भन्दा सिनियरहरुको सुझाव र सल्लाह एकातर्फ लिनुपर्ने हुन्छ भने अर्कोतर्फ सर्बप्रथम स्वयं विद्यार्थीले आफ्नो क्षमता के हो ? आफ्नो रुची के मा छ ? भोलिको आफ्नो भविष्यको सपना कुन बिषयले पूरा गर्ला ? परिवारको आर्थिक हैसियत कस्तो छ ? आफूले पढ्ने बिषयको बजारमा माग कस्तो छ ? आदि बिचार गरेर बिषय छनौट गर्नु पर्दछ न कि साथीभाइको लहै लहैमा वा एसईईको नतिजाका आधारमा । त्यस्तै विद्यालय वा कलेज छनौट सही हुन पनि जरुरी छ । आफूले पढ्ने विद्यालय वा कलेजको भौतिक अवस्था कस्तो छ ? आफूले रोजेको बिषय त्यहाँ पढाई हुन्छ कि हुन्न ? आधुनिक प्रबिधियुक्त छ छैन रु प्रयोगात्मक विषयका लागि ल्याबको व्यवस्था छ वा छैन रु पढाउने दक्ष शिक्षकको अभाव छ की रु समग्रमा व्यवस्थापन पक्ष कस्तो छ ? आफ्नो आर्थिक हैसियतले खर्च पुर्याउन सकिन्छ ? जस्ता थुप्रै कुराप्रति सजग हुन जरुरी छ ।
अब कुन बिषयले भोलिका दिनमा के बन्न सहयोग गर्दछ भन्ने बारे केही कुरा गरौ । अनिवार्य बिषय सबैले पढ्नैपर्ने विषय भइहाले, ऐच्छिक विषयमा विज्ञान सम्बद्ध विषयका छनौटले डाक्टर, इन्जिनियर, फरेस्टर, बिएससी नर्सिङ, बिएससी एग्रिकल्चर, फार्मेसी, बिटेकजस्ता प्राबिधिक विषय तथा पेसामा भविष्य बनाउन सक्छन् । यो विषय पढ्न केही गारो भए पनि यो विषय लिएर अध्ययन गर्नेका लागि देश र विदेशमा राम्रो अवसर छ । यो विषयको अध्ययन गर्नाले स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पनि अध्ययन गर्न सकिन्छ । भविष्यमा राम्रो अभिवक्ता बन्ने वा कानून विषयमा नै आफ्नो करिअर बनाउने विद्यार्थीले एसईईपछि कानुन विषय छनोट गर्न सक्छन् । कानुन सम्बन्धी आधारभूत सबै ज्ञान प्राप्त गर्नुका साथै कक्षा १२ पास भएपछि अभिवक्ताको लाइसेन्स लिन पाउने र उच्च अदालतसम्मको वकालतको अभ्यास गर्न सक्ने योग्यता प्राप्त हुन्छ । त्यस्तै व्यवस्थापन सम्बद्ध विषयको छनौटबाट बैंकिंङ क्षेत्रमा रोजगारी प्रवेशका अवसरहरु प्राप्त हुन्छन भने शिक्षा सम्बद्ध विषयका अध्ययन पूरा गरी सकेपछि शिक्षण पेशामा प्रवेश गर्ने अवसर पाउँछन् । साथै शिक्षा सेवा अन्तर्गत प्राबिधिक सहायक पदमा प्रतिस्पर्धा गर्न पाउँछन् भने स्नातक तह पूरा गरेपछि विद्यालय निरीक्षक, प्रशिक्षकजस्ता पदमा उमेद्वार बन्न सक्छन् । मानविकी सम्बद्ध विषयको छनौटले आफुले रोजेको विषयको विज्ञ बन्न मद्दत गर्दछ । प्राबिधिक विषयको छनौटले सम्बन्धित बिषयमा विज्ञता हासिल गरी उद्योग, कलकारखानामा रोजगारीका ढोकाहरु खुल्दछन् ।
अन्त्यमा, भविष्यको खोजीमा भौतारिएका समग्र भाइबहिनीहरुको विषय छनौट सही बनोस, अभिभावकज्यूहरुले कुनै प्रेसर नदिकन आफ्ना छोरा छोरीको भविष्य खोज्न, सही विद्यालय तथा कलेज छनौटमा सकारात्मक सहयोग मिलोस्, अभिभावकको लगानी खेर नजाओस् । आफूले करकापका भरमा छनौट गरेका विषयले भविष्यमा भाइबहिनीहरुलाई डिप्रेसनमा नपुर्याओस । बर्तमानमा छनौट गरिएका विषयहरुले विद्यार्थी भाइबहिनीहरुलाई अनन्तकालसम्म सहयोग पुगोस् । कक्षा ११ मा भर्ना हुने समस्त भाइ बहिनीहरुलाई उज्वल भविष्यको हार्दिक शुभकामना ।
(लेखक पौडेल सुनसरीको रामधुनी नगरपालिकामा पर्ने आदर्श मावि बकलौरीका प्रधानाध्यापक हुन् ।)
































Discussion about this post