इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठ निर्विरोध चयन भएका छन् । धरानमा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
विगत डेढ दशकभन्दा बढी समयदेखि कोशी प्रदेशको इटहरी केन्द्रित भएर फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठ पछिल्ला वर्षहरूमा विशुद्ध फिल्मी समाचार प्रकाशन गर्दै आएका छन् । उनी फिल्मसम्बन्धी अनलाइन संचार माध्यम सञ्चालनमासमेत संलग्न छन् ।
अधिवेशनबाट उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् । यसैगरी सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिब तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले रहेका छन् ।
प्रदेश प्रतिनिधिमा एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई चयन हुँदा केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि श्रेष्ठले सुनसरी शाखाको आफ्नै कार्यालय स्थापना गर्ने तथा प्रेस मिट र तालिम सञ्चालन गर्न सकिने हलको व्यवस्था गर्ने योजना अघि सारेका छन् । साथै, उनले न्युज पोष्टर डिजाइन सम्बन्धी तालिम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकले उनका प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा बोल्दै श्रेष्ठले आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो जीवनमा पहिलोपटक कुनै संस्थाको नेतृत्व सम्हाल्न पाएको उल्लेख गर्दै उनले उत्साहका साथ जिम्मेवारी पूरा गर्ने बताए ।

































Discussion about this post