इनरुवा । जागिर लगाइदिने र बिवाह गर्ने प्रलोभन देखाएर एक युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीको हरिनगर गाउँपालिकामा कार्यरत लेखा अधिकृत रञ्जित कुमार मेहता पक्राउ परेका छन् ।
इनरुवा नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा मेहताले हरिनगरकी एक युवतीलाई इटहरीको होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उजुरी परेको केहि समयसम्म प्रहरीले आरोपितलाई पक्राउ नगरि छाडिदिएको भन्दै पीडितका तर्फबाट प्रहरीको माथिल्लो निकायमा दवाव बढेपछि प्रहरीले १५ दिन अगाडि उनलाई इनरुवाबाट नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी प्रहरीले मेहताविरुद्धको बलात्कार मुद्धाको अनुसन्धान गरिरहेको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार लेखा अधिकृत मेहताले पीडित युवतीलाई ललाई–फकाई होटलको कोठामा राखी पटक–पटक बलात्कार गरेको उजुरी परेपनि उनी प्रहरीबाट लुक्दै आएका थिए ।
पीडित निकट स्रोतका अनुसार मेहताले राजनीतिक पहुँचका आधारमा घटनालाई गुपचुप राखी युवतीलाई दवाव दिएर घटना मिलाउन प्रयास गरेका थिए । पीडित युवतीले आफुमाथि बलात्कार गरेको हुँदा कानुनी न्यायबाहेक अन्य कुनै सम्झौता नगर्ने अडान लिदै प्रहरीलाई पक्राउ गर्न दवाव दिएपछि मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित युवतीले घटनाको उजुरी प्रहरीसमक्ष दिएपछि उनका परिवारमा र युवतीलाईसमेत उजुरी फिर्ता लिन राजनीतिक नेतृत्व, जनप्रतिनिधिका साथै मेहता निकट व्यक्ति र नातेदारहरुले लामो समयसम्म दवाव दिदै आएका थिए ।

































Discussion about this post