रामधुनी । थारु समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरुमा आवश्यक पर्ने धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथानको संरक्षणमा रामधुनी नगरपालिकाले नीतिगत पहल गरिरहेको छ ।
नगर भित्र रहेका परम्परागत ग्रामथानहरूको संरक्षण, पुनर्निर्माण र प्रवद्र्धनका लागि जनचेतना जगाउँने, पुस्तक निर्माण गर्ने, वडागत रूपमा ग्रामथानहरूको पहिचान, नक्सांकन र अवस्था अभिलेख तयार गर्ने लगायतका काम नगरपालिकाले गरिरहेको ग्रामथान संरक्षणमा सक्रिय फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरीले बताए । ‘पालिकाकै सहयोगमा ग्रामथान संरक्षण समिति रामधुनीमार्फत हामीले पुस्तक निर्माण गरेका छौँ । जनचेतना जगाउँने काम गरेका छौँ,’ उनले भने, ‘अहिले नगरपालिकाले ऐन निर्माणको तयारीसमेत गरिरहेको छ । ऐन पास भएपछि नीतिगत रुपमै दीर्घकालिन हिसाबले ग्रामथान संरक्षणमा हुनेछ ।’
रामधुनीमा १ सय २५ ओटा ग्रामथान रहेको ग्रामथान संरक्षण समिति रामधुनीकी अध्यक्ष सीता थरुनीले बताइन । उनका अनुसार सबै ग्रामथानमा हुँदै आएको पुजा विधि, जमिनको अवस्था, भौतिक संरचनाको अवस्था, अतिक्रममा परे-नपरको लगायत सबै अध्यन गरेर नगरपालिकालाई आवश्यक सुझाव दिइएको र चाँडै ग्रामथान सम्बन्धि ऐन बन्नेछ ।
नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पुर्ण ग्रामथानहरुलाई सुचिकृत गरि संरक्षण गर्ने अभियान आर्थिक बर्ष २०८०/०८१ बाट नै सुरु गरेको थियो । नगर प्रमुख शंकरलाल चौधरीले नगरपालिकाको १४ औँ नगर सभामा आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका थिए । नगर प्रमुख चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको थियो, ‘रामधुनी नगर भित्र रहेका सम्पुर्ण ग्रामथानहरु सुचिकृत गरी संरक्षण गरिने नीति लिइनेछ ।’

त्यसयता नगरपालिकाले ग्रामथान संरक्षणका लागि विभिन्न कामहरु गर्दै आएको छ । थारु समुदायको आस्था, पहिचान र संस्कृति बोक्ने ग्रामथानहरु अतिक्रममा परिरहेको भन्दै थारु अगुवाहरुले आवाज उठाउँने गरेका छन् । थारु समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरुका लागि ग्रामथानको ठूलो महत्व रहेको छ । यस पहलबाट नगर भित्रका परम्परागत मूल्य, संस्कार र सांस्कृतिक सम्पदाको जगेर्ना हुनुका साथै सांस्कृतिक पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने नगर प्रमुख चौधरीको भनाई छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post