रामधुनी । रामधुनी नगरपालिकाले एकल महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भर बनाउनका लागि व्यावसायिक अचार उत्पादन सम्बन्धी एडभान्स तालिम सञ्चालन गरेको छ । तालिमसँगै आवश्यक प्रविधि र उपकरणसमेत हस्तान्तरण गरिएको छ । जसले उनीहरूलाई उत्पादनमा सहजता र व्यवसायिक उचाइमा लैजान सहयोग पुर्याउने विश्वास गरिएको छ ।
रामधुनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ को २ लाख रुपैयाँ बजेटबाट १६ जना एकल महिलाहरूलाई यो तालिम प्रदान गरेको हो । यसमा एकल महिलाहरूलाई अचार उत्पादनका विभिन्न प्रविधि, गुणस्तर सुधार, बजार व्यवस्थापन र प्याकेजिङ्ग सम्बन्धी सीप प्रदान गरिएको छ ।
नगरपालिकाको उद्यम विकास शाखाका अनुसार तालिमको उद्देश्य एकल महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु हो । शाखाकी प्रमुख पूजा परियारका अनुसार तालिममा सहभागी भएका महिलाहरूले भविष्यमा सहकारी वा समूहमार्फत अचार उत्पादनलाई व्यवस्थित व्यवसायमा परिणत गर्ने योजना बनाइरहेका छन् । उनले भनिन्, ‘सिप सिकाएर मात्रै होइन, उत्पादन गर्न आवश्यक उपकरण र प्रविधिसमेत प्रदान गरेर महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’ परियारका अनुसार एकल महिलाहरुलाई डिजिटल तराजु, मिक्चर मेसिन, लेबलिङ्—प्याकेजिङ स्ट्याम्प, आरी, बाल्टी, जगलगायत भाँडाकुडासमेत दिइएको छ । तालिममा घरेलु तरिकाले मात्र नभई आधुनिक प्रविधिको प्रयोग गरेर दीगो व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमासमेत विशेष जोड दिइएको थियो । तालिममा अचारको गुणस्तर सुधार, दीर्घकालीन संरक्षण गर्ने तरिका, बजार विस्तार गर्ने उपाय र ब्रान्डिङसम्बन्धी ज्ञान पनि दिइएको छ ।
नगर उपप्रमुख तारा थापाले यो कार्यक्रमले एकल महिलालाई आत्मनिर्भर बनाउँन आवश्यक रहेको बताइन । उनले भनिन्, ‘महिला सशक्तिकरण नगरको प्राथमिकता हो । एकल महिला समाजको एउटा संवेदनशील वर्ग हो । उनीहरूलाई आत्मनिर्भर बनाउनु आवश्यक छ ।’ एकल महिला, विपन्न, दलित, अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ अगाडि बढाए मात्रै समाजको समावेशी बिकास हुने थापाले बताइन । तालिममा सिकेको प्रविधि र सीपले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै थापाले एकल महिलाका लागि नगरपालिकाले आगामी दिनमा अचार उत्पादनसँगै अन्य व्यवसायिक सीप तालिमहरू पनि सञ्चालन गर्ने बताइन ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post