सुनसरी । कोशी प्रदेशसभामा दण्ड र जरिवानासहितको प्रावधान राख्दै ल्याइएको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को विरोधमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।
महासंघले उक्त विधेयक प्रेस स्वतन्त्रताको मूल भावनाविपरीत रहेको भन्दै सच्याउन माग गर्दै आन्दोलन सुरु गरेको छ । महासंघका अनुसार विधेयकले पत्रकार र सञ्चारमाध्यममाथि अनावश्यक अंकुश लगाउने अभिप्राय राखेको देखिएको छ ।
उक्त विधेयक २०८१ माघ १८ गते प्रदेशसभामा दर्ता भएको थियो । त्यसपछि छलफलका क्रममा १३ ओटा संशोधन प्रस्ताव दर्ता भए पनि न्याय प्रशासन तथा विधायन समितिले उल्टै थप कारबाही र जरिवानाका प्रावधान राख्दै प्रतिवेदन प्रदेशसभामा पेश गरेको छ । यो प्रतिवेदन भदौ १३ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने तयारीमा छ । विधेयक सच्याउँन माग गर्दै महासंघले यही मितिसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
विधेयकको विरोधमा प्रदेशका पत्रकारहरूले आज सामाजिक सञ्जाल फेसबुकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर ! भन्दै सरकारविरुद्ध खवरदारी गरेका छन् ।
यस्ता छन् चरणबद्ध आन्दोलनका कार्यक्रम
भदौ ९ : ‘प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर !’ भनेर प्रदेशका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै विरोधजन्य पोस्ट गर्ने ।
भदौ १० : मुख्यमन्त्री, सम्बन्धित मन्त्री र दलका प्रमुख सचेतकहरूलाई भेटी ध्यानाकर्षण गराउने ।
भदौ ११ : जिल्लास्तरमा प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने ।
भदौ १२ : मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकार महासंघका तर्फबाट १ घण्टा धर्ना कार्यक्रम गर्ने ।
भदौ १३ : दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने ।

































Discussion about this post