रामधुनी । जेन–जी पुस्ताको आन्दोलनका क्रममा रामधुनी नगरपालिकाका दुई ओटा गाडी बिराटनगरमा जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये नगर प्रमुख शंकरलाल चौधरीले प्रयोग गर्ने १ नं. प्रदेश १–०४–००१ झ ०११४ नम्बरको गाडी र प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले प्रयोग गर्ने को १ झ ५४६ नम्बरको गाडी रहेका छन् ।
नगरपालिकाका अनुसार प्रमुख चौधरीको गाडी मुख्यमन्त्री कार्यालय परिषरमा र प्रमुख प्रशासकीय अधिकृतको गाडी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पार्किङ गरिएको अवस्थामा जलेको हो । गत भदौ २३ गते मुख्यमन्त्री कार्यालयमा आयोजित बैठकमा सहभागी भएर फर्किने क्रममा कफ्र्यू आदेश जारी भएपछि गाडीहरू बिराटनगरमै छोडिएको नगरपालिकाले जनाएको छ ।
देशभर आन्दोलनकै क्रममा सरकारी सम्पत्ति जलेर नष्ट भइरहेका बेला रामधुनीमा भने शान्तिपूर्ण आन्दोलन भएको थियो । तर, रामधुनीमा शान्तिपूर्ण आन्दोलन गरे पनि बिराटनगरमा गाडी जल्न दिएको भन्दै नगरपालिकाको तीव्र आलोचना भइरहेको छ । उपप्रमुख तारा थापाले प्रयोग गर्ने गाडीसहित नगरपालिकाका अन्य सवारीसाधन भने सुरक्षित रहेका छन् ।
नगर प्रमुख चौधरी, उपप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै नगरको सम्पत्ति नष्ट भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले सवारीसाधनहरू विमा गरिएकोले क्षतिपूर्ति दाबी गर्ने पनि बताएका छन् ।

































Discussion about this post