रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं. २ र ४ मा उम्मेदवार परिवर्तन गरिएको छ ।
एमालेले यसअघि सुनसरी–२ मा कोशी प्रदेशसभा सदस्य रेवती भण्डारी र सुनसरी–४ मा जगदिशप्रसाद कुसियैतलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । कुसियैत क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका थिए र पार्टीले औपचारिक रूपमा उनलाई सुनसरी–४ को उम्मेदवार बनाइसकेको थियो ।
तर, नेपाली कांग्रेसबाट टिकट नपाएका अबुल हुसैन अनसारी आज मात्रै एमाले प्रवेश गर्दै सुनसरी–४ को उम्मेदवार बनेसँगै समीकरण फेरिएको हो । योसँगै एमालेले रेवती भण्डारीको ठाउँमा सुनसरी–४ बाट हटाएर कुसियैतलाई सुनसरी–२ मा उम्मेदवार बनाउँने भएको छ ।
सुनसरी–४ मा कांग्रेसले निवर्तमान सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टिकट दिने तयारी गरेपछि अनसारी एमाले प्रवेश गरेका हुन् । कार्की निरन्तर यो क्षेत्रबाट चुनाव जित्दै आएका छन् ।
एमाले प्रवेशपछि अनसारीले जीवनको ऊर्जाशील समय कांग्रेसमा बिताए पनि पार्टीभित्र आफ्नो योगदानको उचित मूल्यांकन नगरी ज्ञानेन्द्र कार्कीलाई मात्रै टिकट दिएकाले एमाले प्रवेश गरेको बताएका छन् ।
उनको कांग्रेस नेता कार्कीलाई ‘आगन्तुक’को संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ हामीले सुनसरीमा सधैँ आगन्तुकहरूलाई नेता मान्यौं । पार्टीमा हाम्रो योगदानको कहिल्यै उचित मूल्यांकन भएन । त्यो कुराले मेरो मन सधैँ विझाइरहन्छ । त्यसैले यस पटकको निर्वाचनमा म नेकपा एमाले प्रवेश गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा चुनाव लड्ने घोषणा गर्दछु ।’
यसअघि सुनसरी–१ मा पनि एमालेले उम्मेदवार फेरबदल गरेको थियो । सुरुमा सूर्यप्रकाश पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले आइतबार उनको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाएको छ । सुनसरी–३ मा भने भगवती चौधरीको नाम यसअघि नै टुंगो लागिसकेको छ ।































Discussion about this post