रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी–२ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् । यहाँ ४० मतदानस्थल र १६१ मतदान केन्द्र तोकिएका छन् ।
कुल मतदातामध्ये ४० वर्षमुनिका युवा मतदाता ४१ प्रतिशत (६६ हजार १४० जना) रहेका छन्, जसले यस क्षेत्रको चुनावी परिणाममा युवाको निर्णायक प्रभाव देखाउँछ । उमेर समूहअनुसार १८–२५ वर्षका १२ हजार १९४ (७ प्रतिशत), २६–४० वर्षका ५३ हजार ९४६ (३३ प्रतिशत), ४१–६० वर्षका ६० हजार १५२ (३७ प्रतिशत) र ६० वर्षमाथिका ३२ हजार ५९४ (२० प्रतिशत) मतदाता छन् ।
लैंगिक आधारमा पुरुष ७९ हजार ३३९, महिला ७९ हजार ५७० र अन्य १ जना मतदाता रहेका छन् ।
२८ उम्मेदवार प्रतिस्पर्धामा
सुनसरी–२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुख दलतर्फ नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजिव कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता र नेपाल मजदुर किसान पार्टीबाट गीता मैया बाजी चुनावी मैदानमा छन् ।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति पार्टीबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टीबाट गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपालबाट सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री र सत्यनारायण पण्डितसमेत प्रतिस्पर्धामा छन् ।
सुनसरी–२ मा इटहरी उपमहानगरपालिकाका १० ओटा वडा, रामधुनी नगरपालिकाका ६ ओटा वडा, इनरुवा नगरपालिकाका ६ ओटा वडा, देवानगञ्ज गाउँपालिकाका ७ ओटा वडा र हरिनगर गाउँपालिकाको १ ओटा वडा समेटिएका छन् ।
यस्तो थियो २०७९ को नतिजा
२०७९ को निर्वाचनमा यस क्षेत्रमा प्रत्यक्षतर्फ ९४ हजार ८३१ (६३.४ प्रतिशत) र समानुपातिकतर्फ ९५ हजार १८९ (६३.६४ प्रतिशत) मतदान भएको थियो ।
गत निर्वाचनमा भीमप्रसाद आचार्य (एमाले) ३२ हजार ०२४ मतसहित निर्वाचित भएका थिए भने कांग्रेसका सिताराम मेहता २६ हजार ०६८ मतसहित उपविजेता बनेका थिए । त्यस्तै रास्वपाका लालविक्रम थापा १९ हजार ३९१ मतसहित तेस्रो स्थानमा थिए । यसपटक भने समीकरण फरक देखिएको छ । अघिल्लो निर्वाचनमै १९ हजारबढी मत ल्याएका थापाले आफ्नो मताधार विस्तार गर्ने रणनीति लिएका छन् । रास्वपाको देशव्यापी माहोल र युवामुखी मतदाताको उच्च प्रतिशतका कारण कांग्रेस र एमाले दुवै दल रक्षात्मक देखिन थालेका स्थानीय विश्लेषकहरू बताउँछन् ।
युवा मतदाताको झुकाव, अघिल्लो मतपरिणाम लगायत कारण सुनसरी–२ यसपटक प्रदेशकै चासोको निर्वाचन क्षेत्र बनेको छ ।


































Discussion about this post