रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटीका सदस्य एवं रामधुनी–८ का पूर्व वडाअध्यक्ष रुद्र बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले मादक पदार्थ सेवन गरी एमालेको टोल कमिटी बैठकमा अवरोध गरेको आरोप लगाएका छन् ।
आइतबार रामधुनी–८ ठुलेमोहोरमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको एमालेको बैठकस्थलमा रास्वपा समर्थकहरू रक्सी सेवन गरेर गुण्डागर्दी शैलीमा प्रवेश गरी आतंक मच्चाएको बस्नेतको दाबी छ । बैठकमा बस्नेतसहित वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र सिंह खवास र वडा सदस्य चन्द्रमान उरावललगायत नेताहरू उपस्थित रहेका थिए ।
सार्वजनिक भएको एक भिडियोमा रास्वपा समर्थक र एमाले नेता बस्नेतबीच चर्काचर्की भएको देखिन्छ । समर्थकहरूले ‘घण्टीछाप जिन्दावाद’, ‘एमाले मुर्दावाद’, ‘केपी ओली मुर्दावाद’ लगायतका नाराबाजी गरेका छन् ।
घटनापछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ‘पराजित मानसिकताले ग्रसित भएर एमालेको टोल बैठकमा रक्सी सेवन गरी रास्वपाको घण्टी बोकेर अनाधिकृत रूपमा प्रवेश गरी गुण्डागर्दी शैलीमा मच्चाएको आतंक मुर्दाबाद’ लेखेका छन् ।
यता एमाले रामधुनी नगर कमिटीका अध्यक्ष योगेन्द्र खड्काले आफ्ना पार्टीका नेताहरूलाई रास्वपाका कार्यकर्ताले अभद्र व्यवहार र दुर्व्यवहार गरेको आरोप लगाउँदै यस्तो गतिविधि सह्य नहुने बताएका छन् ।


































Discussion about this post