रामधुनी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोकमा तरकारी बोक्ने पिकअप गाडीले ठक्कर दिँदा दुई साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी–३ का ६१ वर्षीय विष्णु प्रसाद खतिवडा र इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलका अन्दाजी ३५ वर्षीय देवराज बुढाथोकी रहेका छन् । खतिवडाको बिहीबार बिहान करिब ६ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ भने गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा राति करिब १०ः०५ बजे मृत्यु भएको हो ।
बिहीबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २०७९ नम्बरको पिकअप गाडीले साइकलमा सवार उनीहरूलाई ठक्कर दिएको थियो । दुर्घटनापछि दुवै जनालाई उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल पठाइएको थियो ।
दुर्घटनामा संलग्न पिकअप गाडी घटनापछि फरार भए पनि प्रहरीले गाडी कोशी गाउँपालिका–१ भन्सार टोल नजिक भित्री सडकमा लुकाइराखेको अवस्थामा फेला पारेको छ । उक्त गाडी इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


































Discussion about this post