सुनसरी । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार नेपालको पूर्वी क्षेत्रमा शक्तिशाली हावाहुरी आउने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार पूर्वी क्षेत्रका धरान, विराटनगर र धनकुटा आसपासका क्षेत्रमा तिब्र हुरीबतास चल्ने पूर्वानुमान गरिएको छ । उक्त हुरीबतासको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचनाका घर तथा छाना उड्ने, विद्युतका पोलहरू ढल्दा सेवा अवरुद्ध हुने तथा सञ्चार प्रणाली प्रभावित हुनसक्ने जोखिम रहेको जल तथा मौसम विज्ञान कार्यालय धरानले जनाएको छ ।
प्रतिकूल मौसमको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय धनकुटा सहित सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहहरू सक्रिय बनेका छन् ।
उनीहरूले सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई अनावश्यक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न तथा सतर्कता अपनाउन आग्रह गरेका छन् ।


































Discussion about this post