बराहक्षेत्र । ‘पार्टीमा बसेर नगर कार्यपालिकाको नराम्रो लेख्न पाइँदैन, बरु पार्टी छोड्नुस् ढोका खुल्ला छ, तर नगरले गरेका कामकोविरुद्ध फेसबुकमा लेख्न पाइँदैन ।’ नेपाली कांग्रेस बराहक्षेत्र नगरकार्यसमितिको गत श्रावण ५ गते बसेको बैठकमा नगर सभापति तथा मेयर रमेश कार्कीले दिएको अभिव्यक्ति हो यो । सन्दर्भ थियो– सुनसरीको बराहक्षेत्र वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापुको २ हजार ५ सय बिघा जमिन लुम्बिनी गार्डेन फाउन्डेसनलाई लिजमा दिने द्विपक्षीय सहमति भएको बारे । बैठकमा नगर सदस्य दिनेश खम्बु राईले नगर कार्यपालिकाले गर्ने महत्ववपूर्ण निर्णयहरूमा पार्टीलाई थाहै नहुने भन्दै असन्तुष्टी जनाएका थिए । उनले श्रीलंका टापुको जग्गा कुनै एउटा संस्थालाई दिने कुरा तत्काल ठिक नभएको र द्विपक्षीय सम्झौता गर्नैपर्ने भए नगरभित्र रहेका विभिन्न सरोकारवाला पक्षसँग बसेर सार्वजनिक बहसपछि मात्र अगाडि बढाइनुपर्ने फेसबुक स्टाटस राखेका थिए । सोही कुरालाई लिएर मेयर कार्कीले नगरपालिकाले नगरबासीको अहित हुनेखाले सम्झौता गरेको भए आफू जस्तोसुकै सजाय भोग्न पनि तयार भएको जिकिर गरे । ‘मेयरको रूपमा मैले राम्रै कार्यहरू गर्दै आएको भएपनि आफ्नै पार्टी पंक्तिबाट असहयोग गर्दै फेसबुकमा अनेकथरी लेख्दिने कार्यहरू भइरहेको छ ।’ उनले भने ।
पार्टीका विभिन्न बैठक तथा छलफलहरुमासमेत मेयर कार्कीले आफ्नो कामको फेसबुकमार्फत तारिफ गरिदिन आग्रह गर्ने गरेको पाइएको छ । कांग्रेसका नगर सदस्य देबिप्रसाद दाहालका अनुसार बैठकमा चुनावताका गरिएको प्रतिबद्धताहरु पूरा नभएको भन्ने धेरै पार्टी सदस्यले गुनासो राख्दैगर्दा जवाफमा आफूले राम्रै काम गरिराखेको तर पनि साथीहरूले प्रचार नगरिदिएको भन्दै मेयर कार्की गुनासो गर्छन् । नगर सदस्य दाहाल भन्छन्, ‘हर्क साम्पाङको रिफ्लेक्ट उहाँमा देखिएको छ, उहाँ पपुलिस्ट हुन खोजिरहनुभएको छ ।’
त्यसो त मेयर कार्कीको त्यति लामो राजनीतिक पृष्ठभूमि छैन् । सामाजिक कार्यबाटै उदाएका उनी त्यसैबाट मेयरमा निर्वाचित भए । कम्युनिस्टहरुको ‘लालकिल्ला’ मानिने बराहक्षेत्रमा ५ हजार बढी मतान्तरले जित निकालेपछि उनको चर्चा चुलिएको हो । त्यसमा पनि परिवर्तनकारी युवा जोस, मेयरको रूपमा पाउने तलब–भत्ता नलिने, आफू पनि भ्रष्टाचार नगर्ने र यसअघिको कार्यकालमा भएका भ्रष्टाचारको फाइल खोल्ने लगायतका अभिव्यक्तिले उनलाई थप चर्चा दिलायो । यसको लागि उनलाई मद्दत गर्ने महत्वपूर्ण अस्त्र बन्यो, सामाजिक सञ्जाल फेसबुक ।
रमेश कार्की स्वयम् भने सामाजिक सञ्जालमा सक्रिय हुन थालेको लामो समय भएको छैन । नेपाली कांग्रेसको १४ औं नगर अधिवेशनपछि नगर सभापतिमा निर्वाचित भएका उनी त्यसपछि सामाजिक कार्यमा सक्रियता जनाउन थाले । र, सोहि समयबाट फेसबुकमा सक्रिय रहेका उनी अहिलेसम्म पनि यसप्रति उस्तै चासो राख्ने गरेको उनका गतिविधिहरुले पुष्टि गर्दछ । फेसबुकमा उनी आफ्नै आइडीबाट भने त्यति सक्रियता जनाउँदैनन् । वास्तविक आइडी ‘रमेश कार्की’बाट भने साथीभाइको जन्मदिन, सफलता प्राप्ति, बिरामी लगायतका सवालमा शुभेच्छा राख्ने गरेको देखिन्छ । यद्यपि अन्य विभिन्न सरोकारवालालाई भने मेयरको रूपमा आफूले गरेका सानाभन्दा साना गतिविधिको पनि फेसबुकमा पोस्ट गर्न लगाउने गरेको पाइन्छ ।
आफ्नो पक्षमा आउने तारिफबाट मेयर कार्की पुलकित त छन् नै आफूविरुद्ध आएका स–साना आलोचना पनि सहन सक्दैनन् । नगर कार्यपालिकाले गत आर्थिक वर्षमा चक्रघट्टी जेसीजको भवन निर्माणका लागि ७ लाख बजेट विनियोजन गरेको भन्दै फेसबुक प्रयोगकर्ता भबिन राउतले असन्तुष्टी व्यक्त गरे । लगत्तै मेयर कार्कीले आफूहरूले सबै राम्रै गर्दै आएको हुँदा त्यस्ता पोस्टहरु नगरिदिन आशय व्यक्त गर्दै फोन गरेको राउत बताउँछन् ।
मेयर कार्कीको तारिफ गर्न फेसबुकमा अनेकखाले आइडी देखिन्छन् । बराहक्षेत्र नगर प्रमुख सचिवालय, सुर्यकुण्ड न्युज इत्यादि । त्यसमध्ये पनि एउटा अन्लाइन मिडिया हाउस भनिने फेसबुक पेज छ, ‘सदाबहार मिडिया ग्रुप’ जसलाई नगरपालिकाको मुखपत्रको रूपमा देखिन्छ । त्यस्तै, नगर प्रमुखको प्रेस संयोजकको रूपमा नियुक्त भएका संगम बिष्ट पनि मेयरले गर्ने सकारात्मक भनिएका कार्यहरूको सूचना पाउने स्रोतमध्ये एक हुन् । यी विभिन्न फेसबुकका स्रोतहरुबाट मेयरका स–साना गतिविधिहरुको पनि पोस्टहरु आउने गर्दछन् । दैनिक रूपनै ४–५ वटा यस्ता पोस्टहरु आउँछन् जो आलोचनायोग्य हुन्छन् । जसमा ‘हैटाखोलामा पौडी खेल्दै गरेका मेयर, मेयरले नहरमा डुबेर कसैको मृत्यु भएपछि घटनास्थलमा गएर पोस्टमार्टम गर्न निर्देशन दिए, फलानो चोक सरसफाइ गर्न कुचो लिएर निस्किए, डेंगी नियन्त्रणमा आफै स्प्रे गर्न थाले’ लगायतका रहन्छन् । यसबाट बुद्धिजीवी सर्कलमा मेयर स–सानो कार्यमा अल्झिरहेको टिप्पणी हुने गरेको छ ।
मेयर कार्की प्रशंसाभोगी त छन् नै उनीमा अपरिपक्वता पनि झल्किने गरेको छ । चतराघाटबासीलाई पानी खुवाउछु भनेर फुर्किए । त्यहाँ पानी पुर्याउन नगरका इन्जिनियर खटाए । अन्तत पछि हटे । नहरमा डुबेर मरेकाको लास हेर्न नहरमा उभिएका मेयरलाई डोरि तान्न लगाएर गोताखोर जस्तै बनाए भने कहिले पानीमा डुबाएर ‘जहाँ अभर त्यहा नगर’ भनेर मेयरलाई फुर्काउने काम भए । कतिसम्म भने मेयरलाई जग्गा नाप्ने दुर्बिन हेर्नसम्म लगाएर इन्जिनियर नै बनाए । यो कुरा उनले थाहै पाएनन् ।
उसो त उनीसँग सम्बन्धित ती स्टाटसहरुमा केही कमेन्टहरु भने सकारात्मक र उर्जाशील नै हुन्छन् । केहीले कमेन्टमा मेयर कार्कीको कामलाई सकारात्मक संज्ञा दिने पनि गरेका छन् । मेयर कार्कीले ती गतिविधिको स्टाटसहरु हेर्दा जनताको सहानुभूति र सकारात्मक प्रतिक्रिया तान्नकै निम्ति अनेकखाले स–साना गतिविधिहरुलाई पोस्ट गर्न लगाउने र त्यसको कमेन्टले उनी पुलकित हुन्छन् भन्न सकिन्छ ।
सुरुवाती दिनहरुमा भने सबैजसो सकारात्मक प्रतिक्रिया आउने गरेको भएपनि आजभोलि परिस्थिति बदलिएको छ । प्रायले मेयर कार्कीलाई फेसबुकमा बहकिन भन्दा पनि ज्यादा काम गरेर देखाउन आग्रह गरेका छन् भने धेरैले खिसिट्युरी समेत गर्न थालेका छन् ।
प्रत्येकजसो सार्वजनिक समारोहमा बोल्दा बराहक्षेत्रको विकास र समृद्धिका लागि आफ्नो ज्यान आहुती दिन पनि तयार भन्दै भाषण गर्ने उनी कतै अलमलिएको जस्तो देखिन्छ । विकासको नाममा सडक कालोपत्रे गर्नु बाहेक अन्य क्षेत्रमा तात्विक बद्लाब उनको यस अबधिमा देखिँदैन । अरु पनि थुप्रै समस्याहरुको चाङ छ, बराहक्षेत्र नगरमा । अव्यवस्थित भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने, कोशी कटान तथा बाढी पीडितको समस्या समाधान गर्ने, बांगे–धरान जोड्ने जस्ता मूख्य सडकहरू अझै बिरक्तलाग्दो स्थितिमा छन्, तर यतातर्फ नगर कार्यपालिकाको ठोस उपलब्धि देखिँदैन । नेपालकै लोपोन्मुख रूपमा रहेको चन्द्रबंशी समुदाय, सांस्कृतिक रूपमा सम्पन्न मुसहर, थारु लगायतका समुदाय, यहाँ बहुसंख्यक आदिवासी–जनजाति समुदाय छन् । तर पनि सामाजिक न्याय र सुधारको क्षेत्रमा उल्लेख कार्य देखिँदैन । यसबारे उनले पटक–पटक भन्ने गरेका छन्, ‘यी समस्या समाधान गर्न भनेर कुदेको कुद्दै छु । बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म नगरबासीको हितका लागि काम गरेको छु । म रहुन्जेल अलिकति पनि नडगमगाई बराहक्षेत्रलाई सुखी र समृद्व बनाउन लागिरहन्छु ।’
त्यसो त अहिले तत्काल निराश भैहाल्नुपर्ने अबस्था पनि छैन् । जनप्रतिनिधिको १ वर्ष अबधि मात्र सकिएको हो । यस मानेमा उनको ४ वर्षे कार्यकाल अझै बाकी छ । यस अबधिमा केके गर्ने हुन् त्यो हेर्न बाकी नै भएपनि अहिलेसम्म उनकै भाषामा ‘आहा बराहक्षेत्र’ बनाउने अभियानमा त्यति ‘ग्रीन सिङ्नल’ देखाउन नसकेका मेयर कार्कीको यदाकदा आलोचना हुन थालेको बुझिन्छ । अझ केही विष्लेषकहरु त मेयर कार्कीसँग अबको ४ वर्षमा के गर्ने, कस्तो बराहक्षेत्र बनाउने, कहाँ पुर्याउने, कसरी काम गर्ने भन्नेबारे नै खास रोडम्याप नभएको बताउँछन् ।
































Discussion about this post