सुनसरी । रामधुनीमा ‘प्रथम रामधुनी मेयर कम भेट्रान नकाउट फुटबल प्रतियोगिता–२०८१’ सुरु भएको छ । आइतबार नगर प्रमुख शंकरलाल चौधरीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् ।
पहिलो उद्घाटन खेल आयोजक रामधुनी भेट्रान र कमलामाई भेट्रान सिराहाबीच भएको थियो । आयोजकसँग कमलामाई भेट्रान ६–० को फराकिलो गोलअन्तरले पराजित भएको छ ।
रामधुनी भेट्रानलाई जित दिलाउन मित्र बस्नेतले तीन गोल गरे । त्यस्तै कृष्ण शाक्यले दुई गोल र भेषराज लिम्बुले एक गोल गरेका थिए । जवाफमा कमलामाई भेट्रानले गोल फर्काउँन सकेन ।
खेल सुरु भएको २२ औं मिनेटमा रामधुनी भेट्रानका खेलाडि भेषराज लिम्बुले पहिलो गोल गरेका थिए । ६० मिनेटको खेलमा पहिलो हाफमा लिम्बुले एकमात्र गोल गरेका हुन् । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै रामधुनीका मित्र बस्नेतले अर्को गोल हानेका थिए । रामधुनीको दोस्रो गोलपछि कमलामाईको प्रस्तुती थप कमजोर देखिएको थियो । बस्नेतले दोस्रो हाफको ७ मिनेटमा र १३ मिनेटमा लगातार दुई गोल गरे । त्यसपछि १५ मिनेटमा र ३० मिनेटमा कृष्ण शाक्यले लगातार २ गोल गर्न सफल भए ।
आइतबारको उद्घाटन खेलमा जितसँगै रामधुनी सेमी फाइनलमा प्रवेश गरेको छ । आजको खेल भने दमक भेट्रान र पुर्वेली भेट्रान धरानबीच हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।