रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ मा विपन्न दलित समुदायका लागि २४७ ओटा शौचालय निर्माण गरिएको छ । विगतमा आधारभूत पूर्वाधारको अभाव, गरिबी र अशिक्षाका कारण खुला दिसा गर्न बाध्यता बनेको विपन्न दलित बस्तीमा अहिले परिदृश्य बदलिँदो छ ।
वडा नम्बर ९ का तिनटोलिया, लभटोलीया, सितपुर लगायतका दलित बस्तीमा शौचालय निर्माण गरिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा १ सय ४७ ओटा शौचालय निर्माण भइसकेका छन् भने चालु आर्थिक वर्षमा थप १०० ओटा शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यससँगै एउटै वडामा हालसम्म २ सय ४७ ओटा शौचालय निर्माण भइसकेको वडा कार्यालयले जनाएको छ ।
शौचालय निर्माण कार्य रामधुनी नगरपालिका, वडा कार्यालय, सेभ द अर्थ र इटिसी नेपालको सहकार्यमा भएको हो । यो अभियानले दलित समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्यमा सुधार ल्याउन र सरसफाइको प्रवर्धन गर्न उल्लेखनीय योगदान पु¥याएको छ । वडा अध्यक्ष चौधरी भन्छन्, ‘पहिले खुला ठाउँमा दिसा गर्नुपर्ने बाध्यता थियो । अहिले घरघरमा शौचालय भएपछि सरसफाइमा सुधार त भएको छ नै, आत्मसम्मान पनि बढेको छ ।’
नगर उपप्रमुख तारा थापाले पनि यो कार्यक्रमलाई नगरपालिकाको सामाजिक न्याय र समावेशी विकासको उदाहरणीय प्रयास भएको बताइन । विपन्न दलितको जिवनस्तर माथि उकास्न सबै जिम्मेवार भएर लाग्नुपर्ने उपप्रमुख थापाले बताइन । उनले भनिन्, ‘विपन्न तथा दलित समुदायलाई शौचालय निर्माण गर्ने कामलाई तिब्रता दिइएको छ । यो हाम्रो जिम्मेवारी पनि हो । विपन्न दलितको जिवनस्तर माथि उकास्ने कुरामा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।’
(रामधुनीमा ६० काम ६० समाचार ः स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post