रामधुनी । सुनसरीको रामधुनी मन्दिर क्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेको नयाँ गन्तव्य बन्ने दिशामा अघि बढेको छ । यही उद्देश्यसहित मन्दिर परिसरमा हाल १०८ धारा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । मन्दिरको ऐतिहासिक र धार्मिक महत्वलाई अझ उजागर गर्न धारा निर्माणसँगै, पोखरीको सौन्दर्यीकरणको कामसमेत भइरहेको छ ।
यो योजना अघि बढाउँनका लागि कुल २ करोड बजेटमध्ये १ करोड संघीय सरकारको समपुरक अनुदान कोषबाट र बाँकी रकम रामधुनी नगरपालिकाको आन्तरिक स्रोतबाट विनियोजन गरिएको थियो । ठेक्का प्रक्रिया अनुसार श्रीजल निर्माण सेवा नामक कम्पनीले १ करोड ३४ लाख ५६ हजार रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको छ । नगरपालिकाको योजना शाखाका अनुसार संघीय र स्थानीय दुवै तहको साझेदारीमा यो काम अगाडि बढिरहेको छ ।
रामधुनी मन्दिरको महत्व केवल एउटा धार्मिक स्थलको रूपमा सीमित छैन । स्थानीय सरकारका लागि यो नगरको पहिचानकै आधार हो । मन्दिरकै नामबाट नामाकरण भएको रामधुनी नगरपालिकाले मन्दिरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ । नगर उपप्रमुख तारा थापा धार्मिक पर्यटनको सम्भावनाप्रति आशावादी देखिन्छिन् । उनले भनिन्, ‘१०८ धारा र पोखरीको सौन्दर्यीकरण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेछन् । स्थानीय रोजगारी, व्यापार र सेवा क्षेत्रमा प्रत्यक्ष सकारात्मक असर पर्नेछ । यहाँका जनताको आयआर्जन बढने हाम्रो अपेक्षा छ ।’
रामधुनी मन्दिरको महत्व विशेषतः रामनवमी, बालाचतुर्दशी, विवाह पञ्चमी लगायत पर्वमा देखिन्छ । यस्ता अवसरमा नेपालका विभिन्न क्षेत्रका साथै भारत, भुटान, बंगलादेशबाट समेत हजारौँ श्रद्धालुहरू यहाँ पुग्ने गर्छन् । तीर्थयात्रीको यो आवागमनले यो स्थानको धार्मिक उर्जालाई मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि बल पु¥याउँने नगर प्रमुख शंकरलाल चौधरी बताउँछन् । चौधरीले भन्छन्, ‘हामी रामधुनीलाई रामायण सर्किटसँग जोड्ने प्रयासमा छौं । यदि सफल भयौं भने यहाँ हजारौँ तिर्थयात्रीहरू आउनेछन् र यसले नगरवासीको जीवनस्तर उकास्न योगदान पुग्नेछ । धार्मिक आस्थाले मान्छे यहाँ आउँछन्, त्यसबाट यहाँको अर्थतन्त्र चलायमान हुनेछ ।’
नगरपालिकाकै अगुवाईमा संघ र प्रदेश सरकारसँगको समन्वयमा मन्दिरमा बर्षेनी धार्मिक पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । मन्दिरसम्म जाने बाटो व्यवस्थित गर्ने, मन्दिर परिषरमा बिबाह मण्डपको निर्माणलगायत काम नगरपालिकाले गर्दै आएको छ । मन्दिरलाई रामायण सर्किटमा जोडन समेत नगरपालिका सक्रिय भएर लागेको नगर प्रमुख चौधरीको दावी छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)






























Discussion about this post