रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ७ ले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरतामा जोड दिँदै विपन्न किसानलाई प्रत्यक्ष सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८१/०८२ मा मात्र वडाले १६ जना कृषकलाई बेमौसमी तरकारी खेतीका लागि टनेल, ३५ जनालाई विषादी छर्न स्प्रे र झण्डै एक लाख रुपैयाँ बराबरको मकैको उन्नत जातको बीउ वितरण गरेको छ ।
वडाले अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा पनि एक लाख रुपैयाँ बराबरको बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम तथा बीउ वितरण र थप एक लाख बजेटबाट विषादी छर्ने स्प्रे वितरण गरेको थियो । रामधुनीकी कृषि प्राविधिक दुर्गा सापकोटाका अनुसार वडाले प्रत्येक वर्ष प्राथमिकताका आधारमा किसानलाई लक्षित कार्यक्रम गर्दै आएको छ । उत्पादन बढाउने, रोग कीरा नियन्त्रणमा सहयोग गर्ने र प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम गरिएको उनको भनाई छ ।
कृषकलाई सहयोग गर्नु वडाको पहिलो प्राथमिकता भएको वडा अध्यक्ष केवश गौतमले बताए । उनले भने, ‘हाम्रो वडामा अझै पनि कृषिमा निर्भर परिवार धेरै छन् । उनीहरूको आम्दानी वृद्धि होस्, प्रविधिसँग जोडिन सकून् भनेर हामीले कार्यक्रमहरू ल्याएका हौँ । आगामी दिनमा अझ प्रभावकारी कृषि सहायताका कार्यक्रम ल्याउने योजना छ ।’
वडाले कृषिमा लगानी बढाउँदै कृषि उद्यमशिलता विकासमा समेत पहल गरिरहेको अध्यक्ष गौतमले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post