रामधुनी । सुनसरी जिल्लाको रामधुनी नगरपालिका–९ डुम्राहामा चिल्ड्रेन पार्क निर्माण गरिएको छ । स्थानीय बालबालिकाहरूका लागि लक्षित गर्दै छप्की पोखरी क्षेत्रलाई आकर्षक र रमणीय बनाउने उद्देश्यसहित चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।
बालमैत्री संरचनाको विकास गर्दै वडाले पोखरी क्षेत्रलाई बालबालिकाको घुमघाम, खेलकुद तथा पारिवारिक अवलोकनको उपयुक्त गन्तव्य बनाउने उद्देश्य राखेको छ । पार्क क्षेत्रमा विशेषगरी, स्विङ, घुम्तीहरु, रङ्गीचङ्गी बगैँचा, विश्राम स्थल र पोखरीसँगै स्विमिङ संरचनासमेत निर्माण भइरहेको वडा अध्यक्ष घनश्याम चौधरीले बताए ।
‘हामीले वडाभित्र सबै उमेर समूहलाई ध्यानमा राखेर योजना बनाउँदै आएका छौं,’ वडाध्यक्ष चौधरीले भने, ‘यहाँ बालबालिकाको लागि रमाइलो गर्ने उपयुक्त ठाउँ निर्माण भइरहेको छ ।’
उक्त पार्कको निर्माणसँगै डुम्राहा क्षेत्रमा बालमैत्री पूर्वाधार विकासमा थप टेवा पुगेको स्थानीयको भनाई छ । पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली र खुला वातावरणले गर्दा अब यहाँका अभिभावकहरू बालबालिकालाई खेलाउँन सजिलैसाथ ल्याउन सक्ने वातावरण सिर्जना भएको छ ।
चिल्ड्रेन पार्कसँगै पोखरी क्षेत्रलाई सामुदायिक पर्यटनका हिसाबले समेत विकास गर्ने सोचमा वडाले विभिन्न थप योजना समेत अगाडि सारेको छ । चौधरीका अनुसार, आगामी वर्षहरूमा थप संरचनागत विस्तार र सौन्दर्यीकरण गर्दै पार्कलाई अझ व्यवस्थित बनाउने योजना रहेको छ ।
हालसम्म यस क्षेत्रमा संघीय सरकार, प्रदेश र स्थानीय तहको गरेर करिब ४ करोड खर्च भइसकेको वडा अध्यक्ष चौधरीले बताए ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post