रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ३ ले सीमित बजेटमै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गर्दै धमाधम कालोपत्रे सडक निर्माणका काम अघि बढाएको छ । यसले वडाबासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै समग्र वडाको विकास अगाडि बढेको संकेत गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा पिप्राहा पानीट्यांकी जाने बाटो कालोपत्रे गरिएको छ भने ३० लाख रुपैयाँको बजेटमा भकुण्डे चोकदेखि पिप्राहा खेलमैदानसम्मको बाटोमा कालोपत्रे सम्पन्न भएको वडा सचिव मुना पोख्रेलले जानकारी दिइन् ।
त्यस्तै, भादगाउँ सिनुवारी क्याम्पस जाने बाटोको स्तरउन्नति, ज्योति मार्गमा इन्टरलक राख्ने काम, झुम्का कारागार छेउमा पार्क निर्माण लगायतका कामहरू सम्पन्न भएका छन् । विकासको आधार नै पूर्वाधार हो भन्ने मान्यता अनुसार साना–ठूला सबै योजना अगाडि बढाइएको वडा अध्यक्ष बुधनारायण चौधरीले बताए ।
वडाले वडास्तरीय बजेटबाट ओमशान्ति मन्दिर निर्माण, हलेशी मार्गमा नाला निर्माण, कान्छीचोक, पिप्राहा, हाटखोला, राधाकृष्ण मिलीजुली टोललगायत स्थानमा सडक वत्ति जडान पनि गरेको छ । यसले साँझपख हिँडडुल गर्ने नागरिकहरूलाई सहजता ल्याएको छ भने वडाका टोलहरू थप सुरक्षित र व्यवस्थित भएका छन् ।
वडाको सक्रियता र निरन्तरता स्थानीय नागरिकहरूले सकारात्मक रूपमा लिएको अध्यक्ष चौधरीले बताए । विकास निर्माणका कार्य निरन्तर जारी रहेको र जनताको प्राथमिकता अनुसार योजना बनाइने उनको भनाई छ । वडाले आगामी वर्षहरूमा अझ प्रभावकारी विकास योजना ल्याउने प्रतिबद्धत समेत व्यक्त गरेको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)

































Discussion about this post