रामधुनी । स्थानीय तह निर्वाचनपछिका तीन वर्षमा रामधुनी नगरपालिकामा संचालनमा आएका प्रमुख विकास निर्माणका आयोजनाहरुको अवलोकन तथा निरीक्षण गरिएको छ ।
हिजो सम्पन्न अवलोकन तथा निरीक्षणमा कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, नगर प्रमुख शंकरलाल चौधरी, उप–प्रमुख तारा थापा, पूर्व नगर प्रमुख जयप्रकाश चौधरी, नेकपा एमालेका नेता राम कोइराला, नारायण प्रसाद काफ्ले, नन्दकुमार बस्नेत, डेगराज फुँयाल, योगेन्द्र खड्का, गणेश गुरागाईं, नागरिक उन्मुक्ति पार्टीका नेता चन्द्रकुमार चौधरी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बलराम चौलागाईं लगायत विभिन्न दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त टोलीमा विभिन्न वडाका वडाध्यक्षहरु र कर्मचारीहरु समेत सक्रिय रुपमा सहभागी थिए । अवलोकनका क्रममा रामधुनी–९ स्थित धुराहा खेलमैदान, रामधुनी–८ मा रहेको प्याब्सन बस्ती, उराव संग्राहलय, ऐतिहासिक रामधुनी मन्दिर परिसरमा निर्माण गरिएको १०८ धारा, बकलौरीमा निर्माणाधीन नगर अस्पताल लगायतको निरीक्षण गरिएको थियो ।
विभिन्न बिकास निर्माणका कार्यहरुको अवलोकनले स्थानीय जनताको जीवनस्तर सुधार्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेलिरहेको अनूभूति भएको एमाले नेता नारायण प्रसाद काफ्लेले बताए । उनले भने, ‘हामी अनुगमनमा हिँड्यौँ । अहिलेसम्म हेर्दा नगरले राम्रो काम गरेको पाइयो । ठूला योजनाहरुसमेत सजिलो तरिकाले सम्पन्न गरेको पाइयो । जनप्रतिनिधिहरुलाई धन्यवाद दिनैपर्छ ।’
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता चन्द्रनारायण चौधरीले नगरपालिकाले गरेका बिकास निर्माणका कामबाट सन्तुष्टी मिलेको बताए । उनले अवलोकन तथा निरीक्षण कार्यलाई निरन्तरता दिनसमेत नगरपालिकालाई सुझाएका छन् । ‘यो किसिमको कार्यक्रम गर्दै गयो भने हामीबाट पनि अरु पार्टीहरुबाट पनि जनताबाट पनि कमिकमजोरीको सुझावहरु आउँनेछ,’ उनले भने, ‘हामीले पनि नगरपालिकाले समयअनुकुल काम गर्ने प्रयास गरेको छ भनेर जनतामा म्यासेज दिन सजिलो हुन्छ ।’
तीन वर्षभित्र सम्पन्न भएका विकास निर्माण कार्य नगर विकासका लागि महत्वपूर्ण रहेको र आगामी दिनमा थप प्रगति गर्न सुझाव लिने हिसावले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख शंकरलाल चौधरीले बताए । यस कार्यक्रमले समग्र नगरलाई राजनीतिक सहकार्य र विकासप्रतिको प्रतिबद्धताको सन्देश दिएको नगर प्रमुख चौधरीको विश्वास छ ।

































Discussion about this post